काठमाडौं – आफूलाई धर्मगुरु दाबी गर्ने पुष्कर खतिवडालाई गैरकानुनी थुनामा राखेको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता भएको छ । खतिवडाको तर्फबाट आवास अधिकारीले मंगलबार सर्वोच्चमा निवेदन दर्ता गराएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरूको फोटो राखेर अनुष्ठान गरेको आरोपमा खतिवडालाई जिल्ला प्रहरी परिसर काठमाडौं साउन १४ गते नियन्त्रणमा लिइएको थियो । जिल्ला अदालतबाट म्याद समेत थप भएपछि रिहाइको माग गर्दै सर्वोच्चमा निवेदन दायर गरिएको हो ।
उनले प्रधानमन्त्री ओली लगायत नेताहरूको नाममा यमपूजा गर्दै होम हाल्ने तयारीसमेत गरेको आरोप छ । उनलाई विद्युतीय अपराध अन्तर्गतको कसुरमा पक्राउ गरिएको हो ।
उनले सामाजिक सञ्जाल मार्फत गलत कार्य गरेकाले पक्राउ गरिरहेको भनिएको तर राज्यले नियतवश नियन्त्रणमा लिएर गैरकानुनी थुनामा राखेको जिकिर रिटमा गरिएको छ ।