काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्रको स्थायित्वका लागि एमाले-कांग्रेसका बिच सहकार्य भएको बताएका छन् । प्रेस चौतारी दाङले मंगलबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले राजनीतिक अस्थिरताका कारण लोकतन्त्रमाथि नै प्रश्न उठ्न थालेपछि लोकतन्त्रको स्थायित्व, विकास र समृद्धिका लागि एमाले र कांग्रेस मिल्नुपरेको बताएका हुन् ।
राजनीतिक अस्थिरताका कारण लोकतन्त्र खतरामा, जनतामा चरम निराशासँगै आर्थिक मन्दी बढेकाले त्यसलाई हटाउनका लागि देशका प्रमुख दलहरू मिल्नुपरेको उनले बताए । ‘राजनीतिक अस्थिरताले अहिलेको व्यवस्थामाथि नै अविश्वास पैदा हुँदै गयो,’ महासचिव पोखरेलले भने, ‘जनतामा चरम निराशा पैदा गर्ने काम गरेपछि त्यसको अन्त्यका लागि एमाले-कांग्रेस जुट्नुपरेको हो ।’
त्यससँगै कांग्रेस र एमालेले राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि संविधान संशोधन गर्न आवश्यक गर्न महसुस गरेको र त्यसका लागि एक्लै नसकिने भएकाले कांग्रेसको साथ खोजिएको महासचिव पोखरेलले बताएका थिए । महासचिव पोखरेलले राष्ट्रिय दल बन्न ३ प्रतिशत मात्रै थ्रेसहोल्ड मत आवश्यक पर्ने संवैधानिक व्यवस्था भएकाले राजनीतिक अस्थिरता बढेको भन्दै थ्रेसहोल्डको प्रतिशत बढाउन संविधान संशोधन गरिने बताएका हुन् ।
साना राजनीतिक दलहरूले अनावश्यक बार्गेनिङ गर्दै सत्तामा पुग्ने र मुलुकमा निरन्तर अस्थिरता सृजना हुने अवस्था आएपछि दुई ठुला राजनीति दल एक ठाउँमा आउनुपरेको महासचिव पोखरेलको भनाई छ ।
उनले संविधानसभाबाट संविधान जारी गर्ने बेलामा भएको जस्तै सहकार्य प्रमुख राजनीतिक दलहरूको बिचमा सहकार्य भएको बताए । ‘संवैधानिक संरचनालाई बलियो बनाउने गरी दलहरूको बिचमा सहकार्य भएको हो । पाँच वर्ष ढुक्क भएर शासन गर्ने, स्थिर सरकार अनि बलियो प्रतिपक्ष निर्माण गर्न संवैधानिक संरचनामा सुधार गर्न हामी अघि बढेका छौँ,’ उनले भने ।
कम्युनिस्ट पार्टी एकताको प्रहसन अब नदोहोरिने भन्दै महासचिव पोखरेलले बरु कम्युनिस्ट बिचारको एकता आवश्यक रहेको बताए । ‘नेताको टाउको जोडेर गरिने एकता दिगो हुँदैन,त्यो हामीले व्यहोरि सक्यौं,’ उनले भने, ‘अब कार्यकर्ताको मन जोडेर राजनीतिक ध्रुवीकरण जरुरी छ ।’
उनले कम्युनिस्टमा विचार राख्नेहरू एमालेतिर र पुँजीवादी समाजवाद व्यवस्थामा विचार राख्नेहरू काँग्रेसतर्फ ध्रुवीकरण हुन आवश्यक रहेको बताए । नेपालमा धेरै पार्टीको आवश्यकता नरहेको नेता पोखरेलको भनाई छ ।