समाचार सुन्नुहोस :
काठमाडौँ – परराष्ट्रमन्त्री आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी बिपीन जोशीको रिहाइका लागि सरकारले सक्दो प्रयास गरिरहेको बताएकी छन्। उनले जोशीका बुबा र परिवारका सदस्यहरूलाई यो जानकारी दिएकी हुन्। जोशीका परिवारले मन्त्री राणासँग भेट गरी रिहाइका लागि अपिल गरेका थिए।
मन्त्री राणाले जोशी हमासको नियन्त्रणमा सुरक्षित रहेको जानकारी पाएको बताइन्। इजरायली राजदूतसँगको कुराकानीमा पनि जोशीसहित नियन्त्रणमा लिइएकाहरू सुरक्षित रहेको जानकारी प्राप्त भएको बताइन्। जोशीको रिहाइका लागि इजरायली राजदूत पनि लागि परेको र परराष्ट्र मन्त्रालयले कुनै कसर बाँकी नराखी काम गरिरहेको उनले बताइन्।
मन्त्री राणाले आफू परराष्ट्रमन्त्री भएदेखि नै बिपीनको रिहाइका लागि प्रयासरत रहेको र विदेशी राजदूतहरूलाई पनि सहयोग गर्न आग्रह गरेको बताइन्। कतारका राष्ट्रपति नेपाल भ्रमणमा आएका बेला पनि बिपीनको रिहाइका लागि आग्रह गरिएको उनले स्मरण गरिन्। इजरायलमा अक्टोबरमा हमासको आक्रमणपश्चात जोशी सम्पर्कविहीन छन्।