समाचार सुन्नुहोस :
काठमाडौँ – पोखरामा आज बिहानदेखि सार्वजनिक यातायात ठप्प हुँदा सर्वसाधारण समस्यामा परेका छन्। गण्डकी प्रदेश सरकारले ‘राइड शेयरिङ’लाई वैधानिकता दिन लागेको विरोधमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ गण्डकी प्रदेशले आजदेखि सार्वजनिक यातायात बन्द गरेको हो।
यातायात व्यवसायी महासङ्घ गण्डकीका अध्यक्ष केदार पौडेलका अनुसार मुख्यमन्त्री कार्यालय, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमा बुझाइएको सातबुँदे मागमा कुनै चासो नदिएपछि यातायात बन्द गरिएको हो।
प्रदेश सरकारले निजी सवारीसाधनलाई रातो प्लेटमा यात्रु बोक्न अनुमति दिनेगरी राइड शेयरिङलाई वैधानिकता दिन लागेको व्यवसायीको आरोप छ। यातायात व्यवसायीले यातायात प्राविधिकीकरण गठन, सुरक्षाको ग्यारेन्टी, श्रम आयोग गठन, वैज्ञानिक भाडादर समायोजन, र सडक सुरक्षा योजना लागू गर्नुपर्ने माग राखेका छन्।