काठमाडौं – पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या उनकै घरमा काम गर्ने युवकबाट भएको निष्कर्ष प्रहरीले निकालेको छ । सर्लाहीको चन्द्रनगर गाउँपालिका-१ रतनपुरमा उनको हत्या कामदारबाट भएको प्रहरीले बताएको हो ।
रायको घरमा काम गर्ने कबिलासी नगरपालिका-३ का २१ वर्षीय रामउजैन रायलाई प्रहरीले घटनालगत्तै पक्राउ गरेको थियो । पूर्वराज्यमन्त्री रायको साउन ६ गते राति रतनपुरस्थित आफ्नै घरमा भएको थियो । राति घरमा उनीहरु दुईजना मात्रै थिए । रामचन्द्रको हत्या भएको भन्दै प्रहरीलाई राति रामउजैनले नै खबर गरेका थिए । प्रहरीलाई उनले सुरुमा राति ९ बजेतिर तीनजना व्यक्ति जग्गाको विवाद मिलाउन भन्दै आएको र आफूलाई सुत्न पठाएको बताएका थिए ।
राति १ बजे उठेर हेर्दा रामचन्द्रको हत्या भएको आफूले थाहा पाएको र खबर गरेको सुरुवातमा बताएका थिए । तर अहिलेसम्मको छानबिनबाट हत्यामा उनको मात्रै संलग्नता देखिएको अनुसन्धानमा संलग्न अधिकारीलाई उद्धृत गर्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका एक अधिकारीले बताए ।
हत्याको अनुसन्धानका लागि सीआईबीको टोली पनि अहिले सर्लाहीमा खटिएको छ । अनुसन्धान टोलीले घटनामा प्रयोग भएको चक्कु त्यतिबेलै फेला पारेको थियो। यस्तै रामउजैनले हत्या गर्दा लगाएका कपडा रगतसहित घर नजिकै लुकाएको अवस्थामा फेला पारेको छ ।
सबै सामान परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाइएको प्रहरीले जानकारी दिएको छ । ‘हामीले अन्य कोणबाट पनि अनुसन्धान गरिरहेका छौँ । तर अहिलेसम्मको अनुसन्धानबाट उनको मात्रै संलग्नता देखिएको छ । त्यसलाई प्रमाणबाटै पुष्टि गर्न हामीले बरामद भएका सामान परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाएका छौँ । त्यो रिपोर्ट आएपछि सबै कुरा सार्वजनिक गर्छौँ,’ ती अनुसन्धान अधिकारीले भने ।