काठमाडौं – संघीय संसद् भवनमा कार्यरत नेपाल प्रहरीका जवान अजित गोलेले आफैँलाई गोली हानेर आत्महत्या गरेको प्रकरणमा उनका परिवारजनले प्रेमिकाविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दिएका छन् । अजितका परिवारजनले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका हुन् ।
उच्च पहरी अधिकारीले अजितका परिवारजनले एकजनाविरुद्ध आत्महत्या दुरुत्साहनको उजुरी दिएको पुष्टि गरे । बुधबार बिहान संघीय संसद् भवनमा कार्यरत नेपाल प्रहरीका जवान अजित गोलेले प्रेमिकासँग भिडियो कल गर्दागर्दै आफैले बोकेर हतियारले निधारमा गोली प्रहार गरेका थिए । उनको घटनास्थलमै मृत्यु भएको थियो ।
प्रहरीको विशेष सुरक्षा दस्ता (एसटीएफ) मा कार्यरत २२ वर्षीय गोलेले प्रेमीकाकै कारण आफूलाई गोली हानेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । विदेशमा रहेकी प्रेमिका सम्पर्कविहीन भएका कारण गोले केही दिनयता तनावमा रहेको आफन्तहरूले बताएका छन् ।
दोलखा मेलुङ गाउँपालिका-४ घर भएका गोलेले आफ्नै खर्चमा केही समयअघि प्रेमिकालाई वैदेशिक रोजगारीका लागि दुबई पठाएका थिए । तर, उता गएपछि प्रेमिका बिस्तारै सम्पर्कविहीन हुँदा गोले तनावमा थिए । उनकी प्रेमिकालाई परिवारसँगै चिनजानसमेत गराइसकेका थिए । प्रहरी जवान गोलेले पारिवारिक सहमतिमा नै विवाह गर्ने योजना पनि बनाइसकेका थिए । उनीहरूको इन्गेजमेन्ट पनि भइसकेको जनाइएको छ ।
दुबईमा प्रेमिका सम्पर्कविहीन हुन थालेपछि पूरै परिवार तनावमा रहेको बताइएको छ । दुबई पुगेपछि प्रेमिकाले उनलाई वास्ता गर्न छाडेको भन्दै उनीहरुबीच विवाद हुने गरेको थियो । उक्त कुरा उनीहरूको मोबाइलमा भेटिएको म्यासेजबाट समेत पुष्टि भएको छ ।