काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेकोभन्दा जनयुद्धमा आफ्नो जीवन सरल रहेको बताएका छन् । नेपाल बुद्धिजीवी संगठन छैटौँ राष्ट्रिय सम्मेलनमा बोल्दै प्रधानमन्त्रीले अहिले जनयुद्धमा बढी खटेको बताएका हुन् ।
माओवादी केन्द्रमा अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले जीवनको उत्तरार्द्धतिर पनि आफू जनयुद्धकालको भन्दा बढी खटेर काम गरिरहेको बताए । ‘जीवनको उत्तरार्द्धतिर त लागिएकै छ । किनभने ७० तिरबाट अघि बढ्नु उत्तरार्द्ध नै हो । तर म रातदिन जनयुद्धमा भन्दा कम खटेकै छैन । अझ बढी खटेको छु । बरु जनयुद्धमा मेरो जीवन सरल थियो,’ उनले भने, ‘अहिले अझ बढी खट्नुपर्ने । विभिन्न राजनीतिक दलहरू कहिले यता, कहिले उता पनि भन्छन् । तर मैले पार्टी आन्दोलन देशको आवश्यकताअनुसार सबै राजनीतिक प्रमुख दलहरू, बाहिर र सदन भित्र भएकाहरूलाई पनि संयोजन गर्नेकुरा गरिरहेको छु ।’
सो क्रममा उनले सिर्जनात्मक र सकारात्मक सोचसहित जनतामा आशा प्रवाह गरेर मात्र समाजलाई सही दिशातर्फ लैजान सकिने बताए । ‘सबै नेता उस्तै हुन्, यहाँ केही हुँदैन भन्ने भाष्य गलत हो, जसले नकारात्मक भाष्य बनाएका छन्, उनीहरूमा देश र जनताप्रति माया छैन, रहँदैन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘इतिहासमा योगदान गर्ने शक्तिहरूको पक्षमा सकारात्मक तवरले सन्देश प्रवाह हुनुपर्छ, गर्नुपर्छ। तपाईं बुद्धिजीवीहरू परिवर्तनका पक्षमा खुलेर बोल्नुस्, डटेर लेख्नुहोस्, कुनै अप्ठ्यारो मान्नु पर्दैन।’
नेपालको राजनीतिक परिवर्तनमा बुद्धिजीवीहरूको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले संसारभर जनतालाई कतापट्टि डोर्याउने भन्ने सवालमा बुद्धिजीवीहरूको निर्णायक हुने भएकाले त्यसतर्फ लाग्नुपर्नेमा जोड दिए। उनले भने, ‘क्रान्ति, शान्ति प्रक्रिया र संविधान निर्माणमा बुद्धिजीवीको योगदान रहेको छ। हिजो विचार निर्माण र सङ्गठन निर्माणमा बुद्धिजीवीहरूको सक्रियता थियो, आज पनि उत्तिकै छ।’
क्रान्तिपछि भएका महत्त्वपूर्ण कामहरूलाई नजरअन्दाज गरेर परिवर्तन विरोधी भाष्य निर्माण गर्न खोजिएको भन्दै प्रधानमन्त्री प्रचण्डले त्यस्ता गतिविधिको खुलेर विरोध गर्न र प्रतिवाद गर्नुपर्ने आवश्यकता औँल्याए। उनले बुद्धिजीवीहरूको जिम्मेवारी समाजमा सकारात्मक भाष्य निर्माण गरेर आशाको सन्देश प्रवाह गर्नु रहेको बताए।
बुद्धिजीवीहरूले जनमतलाई समाजवादी दिशातिर डोर्याउन भूमिका खेल्नुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले क्रान्तिका उपलब्धि जोगाउन र समाजवादको वैचारिक आधार तयार पार्न सबैले आ-आफ्ना क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्छ भने। उनले बृहत्तर पार्टी एकताका निम्ति आफू लागिपरेको जानकारी दिँदै जतिसुकै अप्ठ्यारो परिस्थिति आए पनि समाजवादको आधार निर्माण गर्न आफू दृढ संकल्पित भएर लागेको स्पष्ट पारे।