समाचार सुन्नुहोस :
काठमाडौँ – आजदेखि काठमाडौं उपत्यकामा मेलम्चीको खानेपानी बन्द हुने भएको छ। मेलम्ची खानेपानी विकास समितिका अनुसार, बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा बाढीको जोखिम बढ्न सक्ने भन्दै सुरुङको मूलद्वार बन्द गर्न लागिएको हो। सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार बाढीको खतरा र नदी धमिलो हुने सम्भावनाका कारण बन्द गर्न लागिएको छ। यसका कारण आजदेखि उपत्यकावासीले मेलम्चीको खानेपानी प्रयोग गर्न पाउने छैनन्।
खानेपानी विकास समितिले मनसुनको अवधिमा विपत्तिको जोखिम कायमै रहने हुँदा मनसुन कम भएपछि मात्रै मेलम्चीको पानी उपत्यकामा पठाउन सुरु गर्ने योजना बनाएको छ। मनसुनको जोखिम समाप्त भएपछि मात्र मेलम्चीको पानी पुन: वितरण गरिनेछ। सरकारले मनसुनजन्य विपत्तिबाट मेलम्ची खानेपानी आयोजनाको हेर्डबक्समा हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि वर्षा सुरु भएसँगै आयोजना बन्द गर्ने र वर्षा सकिएपछि खोल्ने गरेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार, नेपालमा सामान्यतया मनसुन जुन १३ मा भित्रिने भए पनि यस पटक तीन दिन चाँडो भित्रिएको थियो। मनसुन अक्टोबरको पहिलो सातामा बाहिरिने अनुमान गरिएको छ।