समाचार सुन्नुहोस :
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले जर्मनी भ्रमणका क्रममा जर्मन राष्ट्रपति फ्रयांक वाल्टर स्टाइनमायरसँग भेटमा यूरोपेली आकाशमा नेपाली एयरलाइन्समाथिको प्रतिबन्ध हटाउन अनुरोध गरेका छन्। बुधबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले यो जानकारी दिइन्।
लम्सालले राष्ट्रपति पौडेलले लुफ्थान्सा एयरलाइन्सको सेवा पुनः सुरु गर्न र प्रतिबन्ध फुकुवा गर्न आग्रह गरेको बताइन्। उनले जर्मन राष्ट्रपति स्टाइनमायरसँग विकास सहयोग, व्यापार, लगानी, पर्यटन, र व्यावसायिक तालिममा छलफल भएको र यी क्षेत्रमा जर्मनीको सहयोग र लगानीका लागि निजी क्षेत्रलाई प्रोत्साहन गरिएको बताइन्।
स्वीट्जरल्याण्ड भ्रमणका क्रममा राष्ट्रपति पौडेलले स्विस रक्षा मन्त्री भियोला एमहर्डसँग भेटवार्ता गरेका थिए। भेटमा नेपाल-स्वीट्जरल्याण्ड सम्बन्धका विभिन्न पक्षमा छलफल भएको र दुवै पक्षले द्विपक्षीय सम्बन्धको अवस्थाप्रति सन्तोष व्यक्त गरेको लम्सालले जानकारी दिइन्। पौडेलले नेपालको विकास, संघीयताको कार्यान्वयन, र शान्ति प्रक्रियामा सहयोगका लागि स्वीट्जरल्याण्डलाई धन्यवाद व्यक्त गरे। स्विस राष्ट्रपतिले नेपाल समृद्धितर्फ अघि बढिरहेकोमा सन्तोष व्यक्त गर्दै नेपाल भ्रमणको निमन्त्रणा स्वीकार गरेका छन्।