समाचार सुन्नुहोस :
काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतवार साँझ आफ्नो पदको शपथ लिएका छन्। नयाँ दिल्लीको राष्ट्रपति भवनमा आयोजना गरिएको विशेष समारोहमा मोदीले तेस्रो पटक प्रधानमन्त्री पदको शपथ लिए। उनलाई राष्ट्रपति द्रौपदी मुर्मुले पद तथा गोपनीयताको शपथ गराइन्।
राष्ट्रपति मुर्मुले मोदीलाई शुक्रबार प्रधानमन्त्रीको रुपमा नियुक्त गरेकी थिइन्। एनडीए गठबन्धनले सरकार बनाउने दावी पेश गरेपछि मोदीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको हो।
मोदीको शपथ ग्रहण समारोहमा छिमेकी देशका नेताहरूले पनि सहभागिता जनाएका थिए। बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घे, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र मोरिससका प्रधानमन्त्री प्रविन्द जुगनाथलगायतका नेताहरू उपस्थित थिए।