समाचार सुन्नुहोस :
काठमाडौँ – विश्वप्रसिद्ध फोर्ब्स म्यागेजिनको ३० वर्ष मुनिका ३० जनाको सूचीमा नेपालकी श्रेया गिरी पनि छनौट भएकी छन्। अमेरिकास्थित फोर्ब्सले बिहीबार सार्वजनिक गरेको सूचीमा एशियाबाट ‘सोसल इम्प्याक्ट’ विधामा उनी सन् २०२४ को एशियाका प्रभावशाली युवाको सूचीमा परेकी हुन्। लण्डनमा स्नातकोत्तर अध्ययनका क्रममा कोरोना महामारीसँगै मानसिक स्वास्थ्य समस्यासमेत व्यहोरेकी २८ वर्षीया गिरी मानसिक स्वास्थ्य सम्बन्धी डिजिटल प्लेटफर्म ‘ह्याप्पी माइन्ड्स’की संस्थापक हुन्।
अनलाइनमा समस्याका समाधान खोजिरहेका म जस्ता अरु पनि होलान् भन्ने लागेर सो क्रममा अध्ययन सकेर नेपाल फर्किएर ‘ह्याप्पी माइन्ड्स’को सुवात उनले गरेकी हुन्। मानसिक स्वास्थ्य समस्या सिर्जित नकारात्मक दृष्टिकोण र विश्वासजन्य चुनौतीहरूविरुद्ध काम गर्न नेपाल फर्किएकी गिरीले सुरू गरेको ‘ह्याप्पी माइन्ड्स’ले भौतिक र भर्चुअल रूपमा मानसिक परामर्श दिनुका साथै समूहमा विभिन्न वर्कसपहरू चलाउँदै आएको छ। यस संस्थाले विश्वका जुनसुकै स्थानमा रहेका नेपालीलाई सेवा दिन्छ।
आफ्नो दु:ख, सुख आफैसँग राख्ने एवम् खुलेर कुरा नगर्ने बानीले डिप्रेशन, एन्जाइटी जस्ता कुराले सताउने गरेको पाइएकाले यसमा समयमै परामर्श तथा उपचार आवश्यक रहने आफ्नो अध्ययन र अनुभवबाट मिलेको ज्ञानलाई नेपाली समाजमा उपयोग गर्नका लागि आफूले ‘ह्याप्पी माइन्ड्स’ स्थापना गरेको श्रेया बताउँछिन्।