टोकियो – विनाशकारी भूकम्प र सुनामीले जापानको फुकुशिमा परमाणु केन्द्रमा दुर्घटना निम्त्याएको झन्डै १३ वर्ष भयो । तर अहिले पनि जापानमा उक्त घटनाको सम्झना ताजा छ । सोमबार इशिकावामा गएको भूकम्प र त्यससँगै सुनामीको चेतावनी दिन बजाइएको साइरनले फुकुशिमा दुर्घटनाको प्रसङ्ग फेरि सबैको ध्यानमा आएको हुनुपर्छ । भूकम्प गएपछि दिइने चेतावनी जापानका लागि अस्वाभाविक होइन ।
म पहिलो पटक यहाँ आउँदा आफू बसेको भवन अलिकति हल्लिनेबित्तिकै म ओछ्यानबाट जुरुक्क उठिहाल्थेँ । तर केही महिनापछि नै म भूकम्पले हल्लाइरहँदा पनि सुतिरहन थालेँ । जापानमा भूकम्प छोटो अवधिमा नै जीवनको अङ्ग बन्छ । केही हदसम्म तपाईँलाई त्यसको बानी लाग्छ ।
सन् २०११ को त्यो त्रासदीपूर्ण क्षण
तर मनमा सधैँ एउटा कुरा खेलिराख्छ । अर्को ठूलो भूकम्प कहिले आउँछ ? के हाम्रो भवन बलियो छ ? यो पुस्ताले त्यो त्रासदीपूर्ण समय सन् २०११ को मार्च ११ मा अनुभव गर्यो ।
दुई मिनेटसम्म पृथ्वी यसरी हल्लियो कि कसैले पनि आफ्नो जीवनकालमा त्यस्तो भोगेको थिएन । त्यसपछि जमिन हल्लिरह्यो । उक्त भुइँचालो खेपेका जोसुकैले त्यति बेला आफू कहाँ थिए र कति भयभीत थिए भन्ने बताउन सक्छन् । तर अझै खराब कुरा त आउन बाँकी नै थियो ।त्यसको ४० मिनेटभित्रै सुनामीको पहिलो लहर समुद्री तटमा बज्रिएको थियो र जापानको उत्तरपूर्वी तटीय क्षेत्रका सहर र गाउँलाई बगाउन थालेको थियो । सेन्दाई सहरमाथिबाट टेलिभिजनको एउटा हेलिकप्टरले उक्त त्रासदीपूर्ण क्षण देखाएको थियो । त्यसको भोलिपल्ट अझ डरलाग्दो समाचार आयो। एउटा परमाणुकेन्द्रमा पनि क्षति पुगेको थियो ।
सुनामीको प्रकोपमा परेको फुकुशिमा परमाणु केन्द्रबाट चुहावट हुन थालेको थियो । त्यसैले लाखौँ मानिसलाई घर छाड्न भनिएको थियो । टोक्योले पनि सुरक्षित महसुस गरिरहेको थिएन । उक्त दिनले धेरै मानिस प्रभावित भए । त्यसपछिका महिनाहरूमा मैले टोक्योमा बस्ने नयाँ ठाउँ खोजेको थिएँ । त्यस बेला मेरी पत्नीले भौगर्भिक सर्वेक्षणका नक्सा हेरेर सबैभन्दा बलियो चट्टान रहेको ठाउँ र नदीबाट सबैभन्दा उचाइमा रहेको माथिल्लो भूभाग पत्ता लगाएकी थिइन् ।
उनी भवन कति वर्ष पुरानो हो भन्ने कुरा सोधिरहन्थिन् । उनी स्पष्ट थिइन्, ‘हामी सन् १९८१ अघि बनेका कुनै पनि कुरालाई हेर्ने छैनौँ ।’
हामी सन् १९८५ मा बनेको एउटा भवनमा सर्यौँ । खानेकुरा र पानीको जोहो गर्न थाल्यौँ । स्नानकक्षको सिङ्कमुनि पाँच वर्ष टिक्ने बाकसहरू राख्यौँ । सन् २०११ को आतङ्क र त्रासदी सोमवार दोहोरिन सक्थ्यो । तर भर्खरै गएको यो भूकम्पले जापानको महत्त्वपूर्ण सफलताको कथालाई उजागर गरेको छ ।जापानमा भूकम्प जमिन कति हल्लिन्छ त्यसको आधारमा नापिन्छ
जापानमा भूकम्पको शक्ति म्याग्निट्यूडमा भनिँदैन । जमिन कति जमिन हल्लियो त्यसलाई मापन गरेर त्यसको मान बताइन्छ। त्यस्तो मापनको मान एकदेखि सातसम्म हुन्छ । सोमवार इशिकावामा भूकम्प जाँदा जमिन अधिकतम सात अङ्कको मानसम्म पुग्ने गरी हल्लिएको थियो ।
१०० वर्षअघिको भूकम्पमा भएको ठूलो विनाश
उक्त भूकम्पले सडक र पुलहरूमा व्यापक क्षति भएको छ । ठाउँठाउँमा भीषण पहिरोहरू पनि गएका छन् । तर अहिले पनि अधिकांश भवनहरू सग्ला सग्लै छन् । टोक्यो र कानाजावाजस्ता ठूला सहरमा जीवन बिस्तारै सामान्य अवस्थामा फर्किन थालिसकेको छ ।
मैले नजिकैको काशीवाजाकी सहरमा बस्ने एक साथीसँग कुरा गरेँ । ‘त्यो एकदम डरलाग्दो क्षण थियो,’ उनले भने, ‘मैले यहाँ अनुभव गरेको सबैभन्दा ठूलो भूकम्प थियो । हामी तटबाट सुरक्षित स्थानमा जानुपर्यो । तर अहिले हामी घर फर्किएका छौँ र सबैकुरा ठिक छ ।;
सन् १९२३ मा टोक्योमा गएको भीषण भूकम्पपछि सुरु भएको इन्जिनियरिङ उपलब्धिको महत्त्वपूर्ण हिस्साका रूपमा यसलाई लिनुपर्ने हुन्छ । कान्तो महाभूकम्पका कारण सहरको ठूलो भाग भग्नावशेष बनेको थियो । युरोपेली शैलीबाट निर्माण गरिएका आधुनिक इँटाका घरहरू ध्वस्त भएका थिए ।
त्यसलगत्तै जापानले पहिलो भूकम्प प्रतिरोधी भवन संहिता तयार गरेको थियो । त्यसपछि नयाँ भवनहरू निर्माण गर्दा स्टील र कङ्क्रिट प्रयोग गरेर बलियो बनाउनुपर्ने व्यवस्था गरियो । काठका घरहरूमा मोटा निदाल र दलिन प्रयोग गर्न भनियो ।भूकम्पबाट हुने क्षतिबाट जोगिने जापानको प्रयास
प्रत्येक पल्ट देशमा ठूलो भूकम्प गएपछि क्षतिको अध्ययन गरिएको छ र यी नियमहरूलाई अद्यावधिक गरिएको छ । सबैभन्दा ठूलो परिवर्तन सन् १९८१ मा गरियो। त्यति बेला नयाँ भवन निर्माण गर्दा जगमा नै ‘साइस्मिक आइसोलेशन’ भनिने भूकम्प प्रतिरोधी प्रविधि जडान गर्न भनियो ।
सन् १९९५ मा कोबेमा ठूलो भूकम्प गएपछि सिकिएका कुराहरूलाई उक्त नियममा समेटिएको थियो । उक्त विधिको सफलता सन् २०११ मा जापानमा गएको म्याग्निट्यूड ९ को शक्तिशाली भूकम्पले प्रस्तुत गरेको थियो । त्यस बेला कम्पनको तह ५ मापन गरिएको थियो । त्यो जापानको राजधानीले सन् १९२३ को भूकम्पको समयमा महसुस गरेको कम्पनजत्तिकै थियो ।
सन् १९२३ मा सहर भग्नावशेष बनेको थियो र १,४०,००० को ज्यान गएको थियो । सन् २०११ मा अग्ला गगनचुम्बी भवनहरू हल्लिएका थिए । झ्यालहरू भत्किएका थिए तर प्रमुख भवनहरू भत्किएनन् । त्यो बेला भूकम्पले नभई सुनामीले धेरै जनाको ज्यान लिएको थियो ।
इशिकावामा पुराना काठेघरहरू भूकम्पका कारण धराशायी भएको तस्बिरहरूमा देखिन्छ । एउटा आधुनिक भवन भत्किएको छ । तर सञ्चारमाध्यमहरूले तुरुन्तै उक्त भवन सन् १९७१ मा निर्माण भएको जनाएका छन् । केही व्यक्तिहरूको ज्यान गएको छ । धेरै जना घाइते भएका छन् । तर पृथ्वीको अन्य कुनै देशमा यो स्तरको भूकम्प गएको परिस्थितिमा यति कम क्षति भएको कल्पना पनि गर्न सकिँदैन ।
- टोकियोस्थित बीबीसीमा पूर्वसंवाददाता रुपर्ट विङ्फील्ड-हायेसबाट