Deneme Bonusu Veren Siteler
बुधबार, मंसिर ०५, २०८१
Wednesday, November 20, 2024

काजाब्लांका क्यासेल्लो – ‘तमु ल्होसार’ बेल्जियममा विभिन्न सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रमसहित भव्य रूपमा मनाइएको छ । तमु समाज बेल्जियमले डोन बोस्को काजाब्लांका क्योसेल्लोमा आयोजना गरेको २६०८औं  गुरुङ वर्गको तमु ल्होसारमा तमु भेषभूषा, संस्कार र संस्कृति झल्कने सांस्कृतिक झाँकी, र कार्यक्रम सहित तमु नयाँ वर्षको शुभकामना साटासाट गर्दै मनाइएको हो ।कार्यक्रममा बेल्जियममा बसोबास गर्ने गुरुङ समुदायका साथै विभिन्न जातीय, सामाजिक, राजनैतिक र सामुदायिक संघ संस्थाहरूको सहभागिता रहेको थियो । विभिन्न परम्परागत भेषभुषामा सजिएका गुरुङ समुदायका महिला र पुरुषहरू एवम् बालबालिकाहरूको उपस्थितिले कार्यक्रम निकै मनमोहक र भव्य देखिएको थियो ।कार्यक्रमका प्रमुख अतिथि बेनेलक्स तथा युरोपियन युनियनका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारी, विशेष अतिथि एनआरएनए बेल्जियमकी अध्यक्ष सीता सापकोटा,आदिवासी जनजाति महासंघ बेल्जियमका अध्यक्ष वीरमान घर्ती मगर र समाजका अध्यक्ष होम गुरुङ, समाजका अग्रज अभिभावक क्याप्टेन जोगमान गुरुङ, संस्थापक अध्यक्ष मीन गुरुङद्वारा विशेष पूजा र दीप प्रज्वलन गरेर उद्घाटन गरिएको कार्यक्रम, नेपाली राष्ट्रिय गीत र गुरुङ भाषाको राष्ट्रिय गीत बजाउँदै आरम्भ भएको थियो ।तमु ल्होसारको शुभकामना दिँदै प्रमुख अतिथि राजदूत राजभण्डारी सांस्कृतिक सम्पदाको धनी तमु समुदायले प्रवासमा आफ्नो कला र संस्कृति झल्कने गरी आयोजना गरेको भव्य कार्यक्रममा सहभागी हुँदा खुसी लागेको बताए । गैर आवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष सीता सापकोटा, नेपाल आदिवासी जनजाति महासंघ बेल्जियमका अध्यक्ष वीरमान मगरले तमु ल्होसारको शुभकामना दिएका थिए ।एनआरएनए आईसीसी उपाध्यक्ष गंगाधर गौतम, निवर्तमान ग्लोबल युवा उपाध्यक्ष हिमाल गुरुङलगायत नेदरल्यान्ड ,जर्मनी, लक्जेम्बर्ग, फ्रान्स, पोर्चुगल, माल्टा, बेलायतलगायतबाट झन्डै १०० संघसंस्थाबाट कार्यक्रममा पाहुना र सहभागिता रहेको थियो ।सोही कार्यक्रममा तमु समाज बेल्जियमको स्मारिकाको दोस्रो अंक ‘आशिमाला २’ र समाजका पूर्व अध्यक्ष पदम गुरुङ ‘प्रवासी’द्वारा लिखित गुरुङ भाषाको अन्य तीन भाषा- नेपाली, अंग्रेजी र नेदरल्यान्डमा अर्थ खोज्न मिल्ने शब्दकोश ‘नमस्ते’को विमोचन गरिएको थियो । आशिमाला २ को सम्पादन मनिराज गुरुङले र  प्रकाशनको  संयोजन समाजका पूर्व अध्यक्ष बालेन्द्र गुरुङले गरेका हुन् ।कार्यक्रम व्यवस्थापनमा सहयोग गर्ने र प्रायोजकहरूलाई मायाको चिनो सहित सम्मान गरिएको थियो । ल्होसार कार्यक्रममा उपस्थित अतिथिहरूलाई संस्थाको तर्फबाट उपाध्यक्ष सूर्य गुरुङ र आमा समूहकी प्रमुख मन्दिरा गुरुङले स्वागत गरेका थिए । उपाध्यक्ष चित्र गुरुङले तमु संस्कृति र संस्कारको बारेमा विवेचना गरेका हुन् ।समाजका अध्यक्ष होम गुरुङले उपस्थित अतिथिहरू, प्रायोजकहरू र सहयोगीहरू लगायत कार्यक्रम सफल बनाउन योगदान दिने सबैलाई धन्यवाद दिँदै मिलेर बसेको नेपाली समाजलाई विभाजन गर्ने प्रयास कतैबाट पनि नहोस् भन्ने काम गरे । समाजका अध्यक्ष होम गुरुङको सभापतित्वमा भएको ल्होसार कार्यक्रमको सञ्चालन महासचिव चित्रजङ गुरुङ, सचिव उमा गुरुङ र सांस्कृतिक कार्यक्रमको सञ्चालन रिचा गुरुङले गरेका थिए ।गायक नारायण धिताल, दुर्गा गुरुङ र गायिका अनु गुरुङ, अनिता घले गुरुङ लगायतले विविध प्रस्तुति दिएको कार्यक्रममा विभिन्न सांस्कृतिक नृत्यहरू प्रस्तुत गरिएको थिए ।

तपाईको प्रतिक्रिया