काठमाडौं – हमासले गरेको आक्रमणको प्रतिकारमा इजरायलले गाजामा आक्रमण गर्दा मृत्यु हुनेको संख्या १३ हजार नाघिसकेको छ । इजरायलले गाजामा पूर्ण नाकाबन्दी लगाएर अस्पतालभित्रै आक्रमण गरिरहेको छ ।
गाजा बालबालिकाको चिहान र भग्नावशेषको शहरमा परिणत भइरहँदा युद्धविरामको माग भइरहेको छ । तर, इजरायल र अमेरिका मानवीय सहायताका लागि युद्धविरामको पक्षमा देखिएका छैनन् । इजरायलको आक्रमणबारे गाजा र वेस्ट बैंकमा गरेर १३ हजार ५०० भन्दा बढी प्यालेस्टाइनको मृत्यु भइसकेको छ । जसमा ५ हजार ६०० भन्दा बढी बालबालिका छन् ।
इजरायलको आक्रमण लम्बिँदै जाँदा हमासले भने युद्धविरामको बारेमा कुराकानी भएको सार्वजनिक गरेको छ । हमासले इजरायलसँग युद्धविरामबारे छलफल भइरहेको पुष्टि गरेको हो । विश्वभरबाट इजरायललाई युद्धविरामका लागि दबाब बढ्दा यो छलफल भएको हो । युद्धविरामबारे थप केही सार्वजनिक भने भएको छैन् ।
हमास अधिकारीहरुका अनुसार युद्धविरामको समय, गाजामा मानवीय सहायता पठाउने र गाजामा बन्धक बनाइएकाहरुको रिहाईबारे इजरायलबारे छलफल भइरहेको छ । विश्व खाद्य कार्यक्रमका अनुसार गाजामा २२ लाखभन्दा बढी मानिसलाई तत्काल खाद्यान्नको आवश्यकता रहेको छ । इजरायलको आक्रमणका कारण गाजामा २ लाख २२ हजारभन्दा बढी घरहरुमा क्षति पुगेको छ भने ५४ हजारभन्दा बढी घर पूर्णरुपमा नष्ट भएका छन् ।