समाचार सुन्नुहोस् :
काठमाडौँ – चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यहाँ नेपाल-चाइना बिजनेस समिटलाई सम्बोधन गरेका छन् । बेइजिङमा आयाेजित उक्त सम्मेलनलाई सम्बाेधन गर्दै उनले बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) परियोजना कार्यान्वयनको अन्तिम चरणमा रहेको बताएका छन्। नेपाल २०१७ मा बिआरआई परियोजनामा सामेल भएको र अहिले त्यसको कार्यान्वयनको अन्तिम चरणमा रहेको प्रधानमन्त्री दाहालकाे दाबी छ । प्रधानमन्त्री दाहालले नेपाल र चीनबीच क्रस बोर्डर इकोनोमिक जोन,सडक करिडोर,रेल,ट्रान्समिसन लाइनमा काम भइरहेको बताए।
केही समयअघि नेपालले चिनियाँ बन्दरगाह प्रयोग गरेर तेस्रो मुलुकबाट सामान आयात गरेको उल्लेख गर्दै उनले भने,’चिनियाँ बन्दरगाह प्रयोग गरेर तेस्रो मुलुकबाट सामान आउनु नेपाल-चीन पारवहन सम्झौताको कार्यान्वयन हो। ‘ नेपाल-चीन आर्थिक सहयोग र साझेदारी अघि बढाउने विषयमा आफू र चिनियाँ राष्ट्रपति सी जीनपिङबीच छलफल भएको र साे छलफलमा चिनियाँ राष्ट्रपति सी र आफूबीच क्रस बोर्डर कनेक्टिभिटीलाई मजबुत पार्ने विषयमा गम्भीर छलफल भएको उनले बताए।
चिनियाँ व्यवसायीलाई नेपालमा लगानी बढाउन आग्रह गर्दै प्रधानमन्त्री दाहालले नेपालमा जलविद्युत, कृषि, पर्यटन र यातायात क्षेत्रमा लगानी गर्न अपार सम्भावना भएको दाबी गरे । अहिले आर्थिक मन्दी र भू-राजनीतिक उथलपुथलका कारण विश्वले संकट र चुनौतीको सामना गरे पनि साे संकटले अवसर ल्याउन सक्ने बताए । दक्षिण एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी भएर आज बेइजिङ पुगेका प्रधानमन्त्री दाहालले नेपाल-चाइना बिजनेस समिटलाई सम्बोधन गर्दै दुई मुलुकको ऐतिहासिक सम्बन्धको चर्चा गरेका थिए।