समाचार सुन्नुहोस् :
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले १९औँ एसियन गेम्समा सहभागी हुने खेलाडी, पदाधिकारी र अफिसियललाई बिदाइ गरेका छन् । बिहीबार प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको बिदाइ कार्यक्रममा २९ मध्ये १९ खेलका खेलाडीको सहभागिता थियो । १० खेलका खेलाडी भने वैदेशिक प्रशिक्षण र प्रतियोगितामा व्यस्त रहँदा बालुवाटारमा भएको बिदाइमा सहभागी भएनन् । ६ असोजबाट चीनको होन्झाउमा सुरु हुने प्रतियोगितामा जाने खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)को संरक्षकसमेत रहेका प्रधानमन्त्रीले खादा लगाएर बिदाइ गरेका हुन् ।
एसियन गेम्समा २९ खेलबाट १२६ पुरुष र १२७ महिला खेलाडीको सहभागिता रहनेछ । उद्घाटन सत्रमा आफ्नो पनि सहभागिता रहने प्रधानमन्त्री दाहालले बताए । ‘एसियाली खेलकुदमा सहभागी हुने सबैलाई हृदयदेखि नै हार्दिक शुभकामना दिन चाहन्छु । आफ्नो तर्फबाट शतप्रतिशत दिने प्रयास गर्नुहोस्,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘मार्सलआर्टबाट पदकको आशा गरिएको छ । खेलाडीहरूले राम्रो गरिरहनुभएको छ ।’ ‘उद्घाटन सत्रमा म पनि हुनेछु । तपाईंहरूसँगै खेलको रोमाञ्चकता लिन्छु,’ उनले थपे ।
सरकार आवश्यक नीति तयार गर्न, खेलमा लगानी गर्न र पूर्वाधारको विकासमा लाग्न प्रयत्नशील रहेको बताएका छन् । एसियाडमा एथलेटिक्स, जुडो, कराँते र ब्याडमिन्टनमा समान आठ, बास्केटबल, पौडी, कुस्ती, ट्रायथलन र आर्चरीमा समान चार, बक्सिङमा १३, क्रिकेटमा १५ र ई–स्पोर्टस्मा २३ खेलाडी छन् ।
फेन्सिङ, टेबलटेनिस, स्क्वास, टेनिस र गल्फमा समान ६, फुटबलमा २२, ह्यान्डबलमा १६, कबड्डी, उसु र रग्बीमा समान १२, तेक्वान्दोमा ११, भलिबलमा २४ र भारोत्तोलनमा पाँच, साइक्लिङ र सुटिङमा दुई तथा ब्रेकिन डान्स र क्यानोइङमा समान एक खेलाडीको सहभागिता रहनेछ । बिदाइ कार्यक्रममा प्रधानमन्त्री दाहालसँगै युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू, उपाध्यक्ष शिव कोइराला, सदस्यसचिव टंकलाल घिसिङ, ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठलगायत सहभागी थिए ।