काठमाडौं – सरकारले वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतले पाउने पुरस्कारमा कर छुट दिने निर्णय गरेको छ । प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेका रुइतले बहराइनबाट पाउने दश लाख अमेरिकी डलर (करिब १३ करोड नेपाली रुपैयाँ) मा कर छुट पाउने भएका हुन् ।
उनलाई कर छुट दिने निर्णय राजपत्रमा समेत प्रकाशित भएको छ । बहराइनका राजा शेख हमद बिन इसा अल खालिफा ‘अनररी प्रेसिडेन्ट’ रहेको ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले सन् २०१३ देखि हरेक दुई वर्षमा मानव कल्याणको क्षेत्रमा क्रियाशील व्यक्ति र संस्थालाई प्रदान गर्दै आएको छ ।
अन्धोपन निवारणका लागि गरेको मानव कल्याणका लागि डा. रुइतलाई इसा अवार्डका लागि छनोट गरिएको थियो । खाडी मुलुक बहराइनको राजधानी मनामामा मंगलबार पुरस्कार घोषणा समारोह गरिएको छ ।