आनी छोइङ डोल्माको आत्मकथा ‘फूलको आँखामा’ उन्नाईस उपशीर्षकहरूमा संरचित छ । सुरुमा ‘प्रारम्भ’ र पुछारमा ‘उपसंहार’ राखिएको छ । ‘स्वत’, ‘भन्ट्याङभुन्टुङ’, ‘शरणागत’, ‘जन्मघरको बिदाइ’, ‘पुनर्जन्म’, ‘शिरमा फुल्ने इन्द्रकमल’, ‘ओरालोमा’, ‘बादलभन्दा माथिमाथि’, ‘ठूली छोरी’, ‘संवेदनाका बाँधहरू’, ‘एक्लोपन’, ‘अर्को सुरुआत’, ‘यात्रामा’, ‘आर्यतारा स्कुल’, ‘छोरो’, ‘दलाई लामा’, ‘झन्झन् उज्यालो’, ‘मृत्यु बोकेको सोमबार’ र ‘टुहुरी’ उपशीर्षकहरूमा डोल्माको आजसम्मको अर्थात् सन् २००८ सम्मको जीवनकथालाई उनिएको छ ।
यो कृति २००८ मा फ्रान्सेली भाषामा प्रकाशित भएको थियो । लोरेन्स हबि्रयलले यसलाई तयार गरेका थिए । विश्वका विभिन्न भाषामा अनुवाद गर्ने क्रममा यसलाई २०११ मा डोल्मासँगको सहकार्यमा गिरिश गिरीले नेपाली भाषामा रूपान्तरित गरेपछि यो पुस्तक नेपालीभाषी पाठकसमक्ष आयो । प्रकाशन सँगसँगै निकै चर्चामा आएको यो पुस्तकको एउटा विशेषता अनुवाद भएर पनि मौलिक जस्तो लाग्नु हो । अन्य भाषाबाट नेपाली भाषामा पुस्तकहरू अनुवाद गर्ने क्रम बढेपछि यसमा समस्याहरू पनि थपिँदै गएका छन् । धेरै अनुवादकहरूले यसप्रति न्याय गर्न सकेको पाइन्न । अनुवाद कलाको राम्रो जानकारी र अङ्गे्रजी भाषामा गहिरो दखलबिना गरिने अनुवादका कारण पाठकहरूमा अनुदित कृतिहरूप्रति नै गुनासो र निराशा दुवै बढेको पाइन्छ । यो कृति पढ्दा त्यस्तो अनुभवबाट पाठकहरू मुक्त हुन्छन् । मौलिक कृति पढ्दा प्राप्त हुने स्वाद यस पुस्तकबाट प्राप्त हुन्छ ।
संसारमा आत्मकथाका पुस्तकहरू धेरै लेखिएका छन् । यस्ता पुस्तक पढ्ने पाठकहरूको सङ्ख्या पनि निकै छ । आख्यानात्मक कृतिहरूकै हाराहारीमा (कतिपय अवस्थामा अझ बढी) यस्ता कृतिहरू पाठकमाझ लोकपि्रय भएका पाइन्छन् । नेपाली पुस्तक बजारमा पनि यस्ता कृतिहरू लोकपि्रय रहेका छन् । सामाजिक जीवनमा महत्त्वपूर्ण स्थान बनाएका मानिसका जीवनका उकाली ओराली, घाम-छायाँ, आँसु-हाँसो, सफलता-असफलता, पे्रम-घृणा आदिलाई सबैले थाहा पाउन चाहन्छन्, त्यसबाट शिक्षा ग्रहण गर्न र पे्ररणा लिन चाहन्छन् । अरूका कथामा आफूलाई खोज्ने र पाउने मानव चरित्र पुरानै हो । ‘पराई अहं’सँगको साक्षात्कारमा मनुष्यले पे्ररणा र शिक्षा मात्र प्राप्त गर्दैन, सौन्दर्यानुभूति पनि गर्छ । पराई अनुभूतिहरू आफ्नै लाग्छन्, विजातीय होइन । काव्यशास्त्रको भाषामा यसैलाई साधारणीकरण भनिन्छ । आत्मकथाका सन्दर्भमा यसका निम्ति दुईवटा कुरा अनिवार्य छन् । पहिलो आत्मकथाको स्वाभाविक र इमानदारितापूर्ण प्रस्तुति, दोस्रो कृतिको माथिल्लो कोटीको संरचनात्मक पक्ष । पहिलो पक्षलाई आत्मकथामा बढी महत्त्व दिइन्छ र दिइनु पनि पर्दछ । यसैकारण आत्मकथा लेख्न गाह्रो हुन्छ र इमानदार आत्म कथाकारले यसलाई गम्भीर चुनौतीका रूपमा लिन्छ । कैयौँका आत्मकथा जीवनको अवशानपछि मात्र प्रकाशित हुनुको कारण यस चुनौतीसँग पनि जोडिएको पाइन्छ ।
एउटी सामान्य बालिका कसरी आनी बन्न पुगिन्, उनको परिवार कस्तो थियो, उनका बाबुआमा कस्ता थिए, उनीहरूको आर्थिक अवस्था कस्तो थियो, उनीहरू कसरी नेपाल आए, उनी के कस्ता दुःख र मानसिक यन्त्रणाका बीचबाट हुर्किइन्, सामान्य आनी सुस्त सुस्त कसरी प्रसिद्धीको सिँढी उक्लदै गइन्, उनको मीठो स्वरले यसमा के कस्तो योगदान दियो, बुद्धप्रति अनुराग राख्ने विदेशीहरूले यसमा के-कसरी सहयोग पुर्याए, उनी कसरी आर्यतारा स्कुलको स्थापना गर्न पुगिन्, अस्पताल स्थापना गर्ने आकाङ्क्षा उनीभित्र कसरी पलायो, आदि जस्ता प्रश्नहरूको उत्तर यस पुस्तकभित्र पाइन्छ नै साथसाथै उच्च गुरुभक्ति, दृढ इच्छाशक्ति, स्वप्नदर्शिता, कठिन आत्मसङ्घर्ष, गहिरो स्वबोध, प्रतिकूलताहरूसँगको अथक सङ्घर्ष, बौद्ध शिक्षा र नियमअनुसार आफूलाई हिँडाउने उच्च सङ्कल्पजस्ता उनमा अन्तर्निहीत गुणहरूलाई पनि यस कृतिमा पाउन सकिन्छ । समग्रमा भन्ने हो भने यस पुस्तकले उनको आजसम्मको जीवनसङ्घर्ष र त्यसको सफलताको कथालाई सुललित भाषामा भन्छ ।
जीवनको आजसम्मको कथालाई सकेसम्म इमानदारितापूर्वक प्रस्तुत गर्नु यस पुस्तकको सबैभन्दा महत्त्वपूर्ण विशेषता हो । आत्मकथाको आदि र अन्त्य दुवै स्रष्टा हो । उसका समकालीनहरूले पनि उसका बारे केही भन्लान्, लेख्लान् तर ती अनुभवका निरन्तरता र सबै स्तरका साक्षी वा जानकार हुन सक्दैनन् र त्यो सम्भव पनि छैन । पाठक स्वयम् आत्मकथाकार वा स्रष्टाकै इमानदारितामा विश्वस्त हुनुपर्दछ र उसको दुनियाँलाई छिचोल्नुपर्दछ । उनमा पाइने भावनात्मक उतारचढाव, मनोवैज्ञानिक क्रियाप्रतिक्रिया, सांसारिकताप्रतिको मोह आदिको जे जस्तो प्रस्तुति पुस्तकमा पाइन्छ यसले आत्मकथालाई विश्वसनीय बनाउन ठूलो भूमिका खेलेको छ । आफूमा भएका गुण-अवगुण दुवैलाई उनले सहज रूपमा अभिव्यक्ति दिइएकी छन् । समग्र पुस्तकमा उनी एक मनुष्यका रूपमा देखापर्छिन्, असाधारण वा अतिमानवका रूपमा होइन । उनका स्वप्न र सङ्घर्षहरू आम मानिसकै स्वप्न र सङ्घर्षहरू लाग्छन् । ठाउँठाउँमा उनी विद्रोही पनि देखिएकी छन्- आफ्नै आस्थाको संसारका नियमहरूप्रति, पुरुष सत्ता र ज्यादतिप्रति । मलाई लाग्छ एक बौद्ध भिक्षुणीको जीवनकथाका रूपमा मात्र होइन, स्त्री विमर्शका सन्दर्भमा पनि यस पुस्तकको महत्त्व रहेको छ ।
आत्मकथाको प्रस्तुतिमा कहीँ कहीँ विरोधाभास पनि अनुभव हुन्छ । जीवनको द्वन्द्वात्मकतालाई बुझ्ने र ग्रहण गर्ने सन्दर्भमा वैचारिक र भावनात्मक अपरिपक्वता सायद यसका निम्ति जिम्मेवार छ । बाबुप्रतिको उनको हेराइ र बुझाइ नै उदाहरणका निम्ति पर्याप्त छ, जो उनकै जीवनदृष्टि र आदर्शसँग मेल त खान्न खान्न, भावनात्मक अतिरेक पनि अनुभव हुन्छ । यस्ता अरू पनि सन्दर्भहरू छन् । अनुभूतिहरू परिस्थिति, विचार र संवेदनाको विस्तृत, परिपक्व र विश्वसनीय फलकमा आउँदा नै जीवन्त हुन्छन् । ‘फूलको आँखामा फूलै संसार’ हुन्न । संसारमा काँडा पनि छ र मात्र दृष्टिले त्यो बदलिन्न । संसार र जीवनको द्वन्द्वात्मकतालाई यसरी बुझ्न सकिन्छ र ? सायद यसैले पनि पुस्तकमा केही विरोधाभाषहरू देखिएका हुन् कि ? पुस्तकमा पारिवारिक सन्दर्भ पनि अलि बढी भएको अनुभव हुन्छ । आनीका दुर्वल पक्षहरू पनि पुस्तकमा कम बोल्छन् । जीवन अँध्यारो र उज्यालो दुवैको योग हो । जे होस्, समग्रमा पुस्तक पठनीय र पे्ररक रहेको छ । आनीको सामाजिक र धार्मिक जीवन अझ समृद्ध बनोस् । पुस्तकको साजसज्जा, छपाइ सबै राम्रो रहेको छ ।