समाचार सुन्नुहोस् :
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन् । पेटमा समस्या देखिएपछि अस्पताल भर्ना भएका राष्ट्रपति पौडेललाई आज बिहान भेट्न टिचिङ पुगेका प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य अवस्था बारे जानकारी लिएका हुन् ।
पेटमा समस्या आएसँगै राष्ट्रपति शिक्षण अस्पताल महाराजगञ्जमा शनिबार साँझ उपचारका लागि भर्ना भएका छन् । भेटमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेलको स्वास्थ्य लाभको कामना गरेको उनको सचिवालयले जनाएको छ ।
आज साँझसम्ममा राष्ट्रपति पौडेल डिस्चार्ज हुने सम्भावना रहेको प्रेस संयोजक खिला कार्कीले बताएका छन् । यसअघि उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का अस्पतालमा पुगेर राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बारे जानकारी लिएका थिए ।