समाचार सुन्नुहोस् :
काठमाडौं – आफूहरुको माग सम्बोधनका लागि सरकारलाई दबाब दिन काठमाडौं आएका मिटरब्याज पीडित र सरकारी टोलीबीच आज (शुक्रबार) वार्ता हुँदै छ। बिहीबार साँझ नै वार्ता हुने भनिए पनि पीडित पक्षले छलफलका लागि थप समय मागेकाले सो वार्ता शुक्रबार हुने भएको हो। सरकारले मिटरब्याजी पीडितसँग वार्ता गर्न ३ दिनअघि सहसचिव रुद्रादेवी शर्माको संयोजकत्वमा ५ सदस्यीय समिति बनाएको छ।
महोत्तरीको बर्दिबास लगायत तराईका जिल्लाबाट ११ दिन हिँडेर काठमाडौं पुगेका पीडितहरुले आफूहरुको घरजग्गा सबै गुम्ने अवस्था आएको भन्दै न्याय नपाएसम्म नफर्किने बताउँदै आएका छन्। मिटरब्याजी पीडितहरूले साहु, महाजनले कब्जा गरेको सम्पत्ति जसको नामबाट आएको हो, उसैलाई फिर्ता गर्ने गरी कानुन बनाउनुपर्ने पीडितहरुको माग छ।
बिहीबार सरकारी टोली र पीडितबीच पहिलो चरणमा छलफल भएको थियो। बिहीबारको वार्तामा पीडितका तर्फबाट माग पेस गरियो भने सरकारी वार्ता टोलीले मिटरब्याज अपराध नियन्त्रणका लागि हालसम्म भएका कामबारे जानकारी दियो। गृह मन्त्रालयमा भएको छलफलमा पीडित पक्षको टोलीले आफूहरुको ९ बुँदे माग बुझाएका छन्। मिटरब्याजी पीडितले उच्चस्तरीय आयोग गठन गर्न, तमसुक व्यवस्था खारेज गर्न र पीडितको पक्षमा कानुन बनाउनुपर्ने उनीहरुको माग छ।