काठमाडौं – नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादव जनता समाजवादी पार्टी (जसपा)बाट अलग भएका छन्। यादव उपराष्ट्रपति भएपछि जसपा अध्यक्ष उपेन्द्र यादवले उनको राजीनामा स्वीकृत गरेका छन्। पार्टी प्रवक्ता मनिषकुमार सुमनले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै उपराष्ट्रपति यादवको राजीनामा स्वीकृत भएको जनाएका छन्। यादव जसपा नेपालको केन्द्रीय समितिसँगै केन्द्रीय कार्यकारिणी समितिका सदस्य थिए।
स्वतन्त्र तथा संवैधानिक भूमिकाको पद मानिने राष्ट्रपति, उपराष्ट्रपति पदमा निर्वाचित भएपछि पार्टीको पदबाट राजीनामा दिने प्रचलन छ। नवनिर्वाचित उपराष्ट्रपति यादवले आज (सोमबार) पद तथा गोपनीयताको शपथ लिँदैछन्।