काठमाडौँ – रुपन्देहीमा झारफुकको बहानामा झाँक्रीले कुटपिट गर्दा १४ वर्षीया बालिकाको ज्यान गएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले १७ जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ । रुपन्देहीको सैनामैना नगरपालिका–१० की २२ वर्षीया माता भन्ने सोनिया रेश्मीको कुटपिटबाट सैनामैना नगरपालिका–१० की १४ वर्षीया सीता ज्ञवालीको फागुन २० गते मृत्यु भएको थियो ।
कान दुखेर बिरामी परेकी उनलाई झाँक्रीकोमा निको पार्ने भन्दै लगिएको थियो । प्रहरीले माता भनिने सोनिया रेश्मी, मृतक बालिकाका बुवासहित १७ जनालाई पक्राउ गरेको रुपन्देहीका सूचना अधिकारी प्रहरी निरीक्षक दिपक कुँवरले जानकारी दिए । सीतालाई सोनियाले चरम यातना दिइरहे पनि उनका आफन्तले रोक लगाउनुको सट्टा भिडिओ खिचिरहे । सोही यातनाका कारण सीताको मृत्यु भएपछि मृतकका परिवारले राति नै कपिलवस्तुको लक्ष्मणघाटमा लगेर दाहसंस्कार गरी घटना गुपचुप राखेका थिए ।
घटना गुपचुप राख्ने प्रयत्न गरे पनि झारफुकको बहानामा चरम यातना दिइरहँदा खिचिएको भिडिओ एकाएक सामाजिक सञ्जालमार्फत बाहिरिएपछि घटना सार्वजनिक भएको थियो ।