काठमाडौँ – प्रतिनिधिसभाको नयाँ नियमावलीको मस्यौदा पारित भएको छ । सिंहदरबारमा बिहिवार बसेको समितिको बैठकले प्रतिनिधिसभाको कार्य सञ्चालन गर्न, बैठकको सुव्यवस्था कायम राख्न, समितिको गठन, काम कारबाही र सदन वा समितिको कार्यविधि बनाउने लगायत प्रावधानसहित मस्यौदा पारित गरेको हो ।
सो नियमावलीलाई प्रतिनिधिसभाको फूल हाउसले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ । समिति सदस्य समेत रहेका एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आजको बैठकले प्रतिनिधिसभा नियमावली मस्यौदा पारित गरेको जानकारी दिनुभयो ।
प्रतिनिधिसभामा राष्ट्रपति, उपराष्ट्रपति र संवैधानिक अंगका पदाधिकारीलाई कार्यकालको अन्तिममा महाभियोग लगाउने प्रस्ताव आएमा के गर्ने भन्ने विषय टुंगो लगाउँदै मस्यौदा समितिले नियमावली पारित गरेको हो । महाभियोग ५ महिनाभित्र टुंगो लगाउने तर समय अभावले महाभियोग निष्कर्षमा पुर्याउन नसकेमा नयाँ निर्वाचनबाट आउने संसद्ले आवश्यक निर्णय गर्ने व्यवस्था गरिएको छ । प्रतिनिधिसभाले २०७४ सालमा बनाएको नियमावली संसोधन गर्न लागिएको हो ।