काठमाडौँ – टर्की (टुर्किये) को दक्षिणमा रहेको काहरामानमारास शहरबाट दुई महिलालाई बुधवार जीवितै उद्धार गरिएको छ । त्यस्तै आनताक्या शहरबाट एक आमा र दुई बालबालिकालाई भूकम्प गएको २२८ घन्टा अर्थात् नौ दिनपछि उद्धार गरिएको छ । उनीहरूलाई उद्धार गरिएपछि उद्धारकर्ताहरूले ताली बजाएका थिए अनि एकअर्कालाई अँगालो हालेका थिए ।
टुर्किये र सिरियामा गएको भूकम्पका कारण ४१ हजारभन्दा बढी मानिस मारिएका छन् । लाखौं मानिसलाई मानवीय सहायताको आवश्यकता छ । कठ्यांग्रिदो जाडोमा मानिसहरू घरबारविहीन भएर भौंतारिन बाध्य छन् । उद्धारकार्य पर्याप्त रूपमा हुन सकेको छैन । जीवित रहेका मानिसलाई रोगव्याधि नलागोस् भनी ध्यान दिन थालिएको छ ।
यत्तिका दिनसम्म भग्नावशेषमा पुरिएर बस्ने मानिसहरूले आफ्नो दुःखकष्ट वर्णन गरेका छन् ।हुसेन बर्बर नामक ६२ वर्षीय मधुमेह रोगी भग्नावशेषमा १८७ घन्टा पुरिएका थिए । भुइँतल्लामा रहेको उनको कोठाका भित्तालाई फ्रिज र दराजले अड्याएका थिए । उनी एउटा कुर्सीमा बस्न अनि दरी ओढेर न्यानो लिन बाध्य थिए ।उनीसँग पानीको जम्मा एउटा बोतल थियो । पानी सकिएपछि आफ्नै पिसाब पिएको उनी बताउँछन् ।
‘म चिच्याएको चिच्यायै गरें । कसैले पनि मेरो आवाज सुनेन । धेरै चिच्याउँदा मेरो घाँटी नै दुख्यो । पछि कसैले मतर्फ हात बढायो र मेरो हात भेट्यो । उनीहरूले मलाई त्यहाँबाट तानेर निकाले । म निस्केको प्वाल निकै साँघुरो थियो । त्यो देखेर म डराएँ,’ उनले थपे ।