काठमाडौं – सत्तारुढ गठबन्धनमा विवादका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भइरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
विशेष गरि राष्ट्रिय स्वतन्त्र पार्टीले यस अघि पाएको गृहमन्त्रीको विषयमा विवाद बढेको छ । गठबन्धनका एमाले र राप्रपाले रवि लामिछानेलाई नै फेरी गृहमन्त्री बनाउने पक्षमा रहेका छन् भने प्रधानमन्त्री प्रचण्ड नागरिकता प्रकरणको सर्वोच्चको आदेशको पूर्ण पाठ नआएसम्म र राहदानीको विषयमा छानबिन नसकिएसम्म लामिछानेलाई सरकारमा लयाउन सकारात्मक देखिएका छैनन् ।
गृहमन्त्री दिन प्रधानमन्त्रीले अस्वीकार गरेपछि रास्वपाले सरकार छोड्ने चेतावनी दिएको छ । शुक्रबार बसेको बैठकले प्रधानमन्त्री प्रचण्ड र ओलीको आग्रहमा दुई दिनको समय दिएको थियो । आजको प्रधानमन्त्री प्रचण्ड र ओलीबीचको भेटमा यसै विषयमा छलफल भइरहेको छ । सम्भवत आजै उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक समेत बस्न सक्ने बताइएको छ ।