काठमाडाैँ – कांग्रेस महामन्त्री गगन थापाले सन्दीप लामिछानेले कुनै पनि हालतमा विशेषाधिकार पाउनु नहुने बताएका छन्। उनले सामाजिक सञ्जालमा आफ्नो धारणाबारे धेरैले जिज्ञासा राखेको भन्दै थापाले आफ्नो स्पष्ट धारणा रहेको बताए। उनले भने, ‘बलात्कारजस्तो गम्भीर अभियोग लागेको व्यक्तिले कुनै पनि बहानामा विशेषाधिकार पाउन सक्दैन, पाउन हुन्न।’
उनले अगाडि लेखेका छन्, ‘एक साताअघि नै यो प्रसङ्ग आउन साथ क्यानका अध्यक्ष (जो नेपाली काँग्रेसका जिल्ला सभापति समेत हुनुहुन्छ) लाई भेटेरै अदालतको फैसला नआउँदासम्म न्यायिक प्रक्रियामा रहेको यो विषयमा हतारमा कुनै पनि निर्णय नगर्न स्पष्टसँग भनेको थिएँ। उहाँले यस खालको निर्णय नगर्ने बताउनु भएको थियो। तर त्यसो हुन सकेन।’
थापाले भने, ‘दोहोर्याउन चाहन्छु बलात्कार जस्तो गम्भीर अभियोगमा अदालतमा मुद्दा विचाराधीन भएको बेला क्यानले हतारोमा गरेको निर्णय गलत छ, तत्काल फिर्ता लिनुपर्छ।’
अदालतमा विचाराधीन मुद्दाका अभियुक्तलाई क्यानले निलम्बन फुकुवा गरेको सम्बन्धमा मेरो धारणाका बारे धेरैले सामाजिक सञ्जाल मार्फत प्रश्न गर्नु भएको छ।
मेरो धारणा स्पष्ट छ – बलात्कार जस्तो गम्भीर अभियोग लागेको व्यक्तिले कुनै पनि बहानामा विशेषाधिकार पाउन सक्दैन, पाउन हुन्न। pic.twitter.com/vLojFVRdqJ
— Gagan Thapa (@thapagk) February 3, 2023