काठमाडौँ – श्रीलंका भ्रमणमा रहेकी परराष्ट्रमन्त्री विमला राई पौड्यालले आज उच्चस्तरीय राजनीतिक भेटघाट गर्दैछिन्। श्रीलंकाको ७५ औं स्वतन्त्रता दिवसको अवसरमा सहभागी हुन पुगेकी पौड्यालले आज त्यहाँका प्रधानमन्त्री दिनेश गुणावर्धनेसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको पौडेलकी प्रेस संयोजक यसोदा अधिकारीले जानकारी दिईन्।
प्रधानमन्त्रीसँगको भेट भन्दा पहिला परराष्ट्रमन्त्री पौडेलले श्रीलंकाका विदेशमन्त्री एमयूएम अली सब्रिलेसँग भेट्ने कार्यक्रम छ। विदेशमन्त्रीकै निमन्त्रणमा मन्त्री पौड्याल श्रीलंका भ्रमणमा गएकी हुन्। दुई भेटघाटपछि श्रीलंकाको स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा हुने सांस्कृतिक कार्यक्रममा सहभागी हुनेछिन्। मन्त्री पौडेल हिजो त्यसतर्फ प्रस्थान गरेकी हुन्। भोली बिहान श्रीलंकाको स्वतन्त्र दिवसको अवसरमा आयोजित झण्डोत्तलोन र परेड कार्यक्रममा सहभागी हुनेछिन्। उक्त कार्यक्रम सकिएपछि दिउँसो श्रीलंकाका राष्ट्रपति रणिल विक्रमासिङ्घेसँग शिष्टाचार भेट हुनेछ।
स्वतन्त्रता दिवसको राति राष्ट्रपति रणिलले रात्रि भोजको आयोजना गरेका छन् । राष्ट्रपति भवनमा आयोजित भोज कार्यक्रममा मन्त्री पौडेल पनि सहभागी हुनेछिन् । त्यो बीचमा दक्षिण एसियाली राष्ट्रबाट सहभागी विदेशमन्त्रीहरुसँग भेटवार्ता गर्ने तयारी छ ।