काठमाडौं – प्रतिनिधिसभाका सदस्य अरुणकुमार चौधरी पक्राउ परेका छन् । सांसद चौधरीलाई बिहीबार बाँकेबाट प्रहरीले पक्राउ गरेको हो ।उनलाई बाँकेकाे कोहलपुरबाट पक्राउ गरी कैलाली जिल्ला अदालतमा बुझाउन लगिएको प्रहरी प्रवक्ता डिआइजी पोषराज पोखरेलले जानकारी दिए ।प्रतिनिधि सभाका सदस्य अरुणकुमार चौधरी नौ वर्षदेखि फरार सूचीमा रहेका थिए । चौधरी सहितका तीन जनालाई कैलाली जिल्ला अदालतले २०७० बैशाख ९ गते छ महिना कैद तोकेको थियो।
सांसद चौधरी सहितले २०६५ साल भदौ ३ गते लु २ त २११ नम्बरको ट्याक्टर जलाएको सरकारीवादी फौजदारी मुद्दा परेको थियो। हालको लम्कीचुँहा नगरपालिका (साविकको बलिया गाविस) क्षेत्रमा सो ट्याक्टर जलाइएको थियो।
२०७४ मा लम्कीचुँहाको मेयर र प्रदेश सभा सदस्यमा पराजीत चौधरी २०७९ को चुनावमा कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए। उनी रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीबाट विजयी भएका हुन्।