काठमाडौँ – नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज मंगलबार पनि बस्ने भएको छ । हिजो सोमबारदेखि शुरु भएको पदाधिकारी बैठकमा नेताहरुले बोल्नेक्रम नसकिएकाले आजका लागि बैठक बोलाइएको महासचिव देव गुरुङले बताए।
पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल जारी रहेकाले त्यस विषयमा नेताहरुको सुझाव लिनेक्रम जारी रहेको उनले बताए । यसअघि स्थायी समिति बैठकमा छलफल गर्दैआएको माओवादी केन्द्रले सो बैठक स्थगित गरी सोमबारदेखि पदाधिकारी बैठक बोलाएको थियो । पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने बैठकमा आज पनि पदाधिकारीले आफ्नो सुझाव राख्ने उनले बताए ।
बैठकमा सरकार सञ्चालनको एजेण्डा, राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका विषयमा पनि आवश्यक छलफल हुने महासचिव गुरुङको भनाइ छ । सोमबार बसेको पदाधिकारी बैठकले गृहमन्त्री नियुक्ति र राष्ट्रपति पदका विषयमा थप निर्णय लिने जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिएको थियो । अधिकांश पदाधिकारीले गृह मन्त्रालय सरकारको नेतृत्व गर्ने दलले लिनुपर्ने सुझाव दिएका थिए । गृहमन्त्री पदबाट राजिनामा दिएका रवि लामिछानेले पुनः सोही पदमा दावी गरेपछि माओवादी नेताहरुको पछिल्लो धारणा बाहिर आएको बताइएको छ ।