काठमाडौं – गत बिहीबार राति कम्बोडिया ग्राण्ड डायमण्डसिटी र क्यासिनोमा भएको आगलागीमा परी मृत्यु भएका निराकार पाण्डेका बुवा अग्नि पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट गरेका छन्।
प्रधानमन्त्रीले बिहीबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बोलाई पाण्डेसँग भेट गरेको प्रचण्डको सचिवालयले जनाएको छ। प्रधानमन्त्रीसँगको भेटमा पाण्डेले छोराको अप्रत्यासित निधनले आफूहरू स्तब्ध भएको भन्दै सरकारले देखाएको चासो एवं जिम्मेवारीवोधप्रति धन्यवाद व्यक्त दिए।
प्रधानमन्त्री प्रचण्डले निराकारको निधनप्रति दु:ख व्यक्त गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरे। प्रधानमन्त्रीले निराकारको शव नेपाल ल्याउन र परिवारलाई सरकारको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै धैर्यधारणका लागि निराकारका बुवा अग्निलाई आग्रह गरे।
घटना बाहिरएलगत्तै प्रधानमन्त्री प्रचण्डले पाण्डेको शव नेपाल ल्याउने कामका लागि सहजीकरण गर्न मुख्यसचिव शंकरदास बैरागीलाई निर्देशन दिएका थिए। आगलागी हुँदा क्यासिनोको १२ औं तलामा फसेका पाण्डेले ज्यान जोगाउन हाम फाल्दा मृत्यु भएको थियो।