काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा सत्तागठबन्धन दलहरूको बैठक चलिरहेको छ । बुधबार अपरान्ह बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सत्ता गठबन्धन दलमा आबद्ध दलका शीर्ष नेताहरू रहेका छन् ।
बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव सहभागी रहेका छन्।
सरकारले ल्याउन लागेको न्यूनतम साझा कार्यक्रमका विषयमा गठबन्धनमा विशेष छलफल भइरहेको बताइएको छ । यसका साथै, समसामयिक राजनीतिलगायतका विषयमा पनि बैठकमा छलफल भइरहेको भनिएको छ । यही पुस १० प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले पुस २६ गते विश्वासको मत लिन लागेका छन् । त्यस विषयमा पनि गठबन्धन दलको विशेष छलफल भइरहेको छ ।