Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

काठमाडौं – सन् २०२२ आजबाट बिदा भएको छ । नयाँ वर्ष २०२३ लाई मानिसले विश्वभरि भव्य स्वागत गरेका छन। हर्ष, उल्लास, आशा र उमङका साथ नयाँ वर्षको शुभकामना आदान-प्रदान भइरहेको छ । यसै सन्दर्भमा हामीले बिदा भएको वर्ष सन् २०२२ को ७ ठूला विश्व घटनाको स्मरण र चर्चा गरेका छौं ।

१. रुस-युक्रेन युद्ध

सन् २०२२ फेब्रुअरी २४ मा रुसले छिमेकी देश युक्रेनमाथि सैन्य आक्रमण गर्‍यो । ३ महिनामै हारजित हुने अपेक्षासहित रुसले युक्रेन युद्ध लादेको थियो । युद्ध भट्किएको एक वर्ष बित्न लाग्दा पनि समाप्त भएको छैन । युद्धको अन्त्य कसरी हुन्छ भन्ने कुनै टुंगो पनि छैन । युक्रेन युद्धले १०औं हज्जारको मानवीय क्षति मात्र गराएन्, विश्व अर्थतन्त्रमा समेत गम्भीर प्रभाव पार्‍यो । लाखौं युक्रेनी र रुसीहरू देश छोडेर अन्य युरोपेली देशतिर भागे । विश्व अर्थतन्त्रमा ऊर्जा, इन्धन र खाद्यान्नको चर्को मूल्य वृद्धि भयो । युद्धको मानवीय तथा आर्थिक क्षतिको अन्तिम हिसाबकिताब हुन बाँकी नै छ।

२. महारानी एलिजावेथ द्वितीयको निधन

बेलायतकी महारानी एलिजावेथ द्वितीय सन् २०२२ को सेप्टेम्बर ८ मा बितिन् । उनी सन् १९५२ फेब्रुअरी ६ देखि मृत्युसम्म ७० वर्ष बेलायतको राष्ट्राध्यक्ष रहिन् । उनी आफ्नो जीवनकालमा ब्रिटिस साम्राज्यका ३२ राज्यहरूको समेत राष्ट्रप्रमुख भइन् । उनको नामका बेलायतको इतिहासमा सबैभन्दा लामो शासन गर्ने महारानी र विश्वकै इतिहासमा सबैभन्दा लामो शासन गर्ने महिला राष्ट्राध्यक्षको रेकर्ड कायम भएको थियो ।

३. चिनियाँ कम्युनिस्ट पार्टीको २० औ महाधिवेशन

सन् २०२२ को अक्टोबर १६–२२ सम्म सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो २०औं महाधिवेशन गर्‍यो । यो पार्टीले स्थापनाको १ सय वर्ष सन् २०२१ म पूरा गरेको थियो भने सन् १९४९ मा सत्तामा आएयता निरन्तर सत्ता चलाएको ७३ वर्ष भयो । राष्ट्रपति सी जीन पिङ तेस्रोपटकका लागि अनुमोदित भए । आधुनिक चीनका ठूला सुधारक मानिएका देङ सियाओ पिङदले स्थापित गरेको दुई कालकालको राष्ट्रपतीय प्रणालीलाई अन्त्य गरेर आफूलाई विश्वकै सर्वाधिक शक्तिशाली कम्युनिस्ट नेताका रूपमा स्थापित गरे । चिनियाँ कम्युनिस्ट पार्टी विश्वकै सबैभन्दा ठूलो कम्युनिस्टहो र चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र । तसर्थ चिनियाँ कम्युनिस्ट पार्टीको २० औं महाधिवेशनले विश्व राजनीति र शक्ति सन्तुलनमा ठूलो अर्थ राख्दछ ।

४. गोर्भाचेभको निधन

अगस्ट ३० मा अन्तिम सोभियत राष्ट्रपति मिखाइल गोर्भाचेभको अन्त्य भयो। विश्व कम्युनिस्ट आन्दोलन र राजनीतिमा उनी एक किंवदन्ती पुरुष थिए । सन् १९१७ को लेनिन नेतृत्वको ऐतिहासिक अक्टोबर क्रान्तिले स्थापित गरेको शासनसत्ताका उनी अन्तिम उत्तराधिकार पनि थिए । सन् १९८९–१९९१ का विश्व घटनाक्रमका लागि गोर्भाचेबलाई एक निर्णायक र प्रेरक व्यक्तित्व मानिन्थ्यो । त्यस कालखण्डमा पूर्वी तथा मध्य युरोपका दर्जनौैं देशमा एकदलीय साम्यवादी शासनको अन्त्य भएको थियो । जर्मनीको एकीकरण र सोभियत संघको विभाजन भएको थियो ।

५. इरानमा हिजाब विद्रोह

वितेको वर्षका विभिन्न महिनामा इस्लामिक गणतन्त्र इरानमा हिजाब विद्रोह भड्कियो । र, त्यसले इस्लामिक धर्मगुरु खुमेनीको धार्मिक शासनलाई चुनौती दियो । सेप्टेम्बर १६, मा इरानको नागरिक नैतिकता अनुगमन तथा पालना गराउने ‘गस्त ए–इरसाद’ अर्थात् ‘मोरालिटी पुलिस’ ले नियन्त्रणमा लिएकी २२ वर्षीया युवती महसा अमिनीको हिरासतमै रहेको अवस्थामा तेहरान नगर अस्पतालमा मृत्यु भएपछि यो आन्दोलन भड्किएको थियो । हिजाब आन्दोलन यद्यपि जारी छ । महसा अमिनीलाई प्रहरीले हिजाब राम्ररी मिलाएर नलगाएको आरोपमा पक्राउ गरेको थियो । उनी उत्तरपश्चिमी शहर साक्वेजबाट तेहरान आएकी थिइन् । प्रहरीले प्रक्राउ गर्दा उनी आफ्ना दाजुसँग शहर डुलिरहेकी थिइन । हिरासतमा उनलाई निर्मम यातना दिएको र उपचारको क्रममा नगर अस्पतालमा उनको मृत्यु भएको बताइएको थियो । उनी कुर्दिश मूलकी मुस्लिम महिला थिइन् । चरम अमानवीय यातनाका कारणले मृत्यु हुनुअघि उनी ३ दिनसम्म कोमामा परेकी थिइन् ।

यो समाचार बाहिरिएपछि इरानका सबैजसो शहरमा हिजाब विरोधी प्रदर्शन भड्किएको थियो । हिजाब विरोधी प्रदर्शनमा इरानी महिलाले हिसाब खोल्ने र खुल्लमखुल्ला सडकमा जलाउने गरे । यस क्रममा प्रहरीसँगको भिडन्तमा २०० भन्दा बढी प्रदर्शनकारीको मृत्यु भइसकेको छ । हिजाब ‘इस्लामिक पोसाक मर्यादा’ अनुृसार महिलाले टाउकोमा बाँध्नुपर्ने एक प्रकारको बर्को हो । यसले कपाल, घाँटी र छातीको भाग छोप्दछ तर, निधारदेखि चिउँडोसम्मको अनुहार भने खुल्ला हुन्छ । मुस्लिम ‘ड्रस कोड’ अनुसार इरानमा मुस्लिम महिलाले टाउको र अनुहारको भागमा हिजाब लगाउन अनिवार्य छ । सन् १९७९ मा भएको इस्लामिक क्रान्तिपछि इरानमा महिलालाई हिजाब लगाउन अनिवार्य गरिएको थियो । यो कानुनअनुसार हिजाब नलगाउने महिलालाई १० दिनदेखि २ महिनासम्म थुन्न सकिने नियम छ । इस्लामिक क्रान्ति अघि हिजाब लगाउन अनिवार्य थिएन । इरानमा हिजाबविरोधी आन्दोलन नयाँ घटना भने हैन । सन् २०१४ पछि हिजाब विरोधी आन्दोलन बारम्बार हुँदै आएका थिए । सन् २०२२ मा आएर त्यसले एक नयाँ उच्चाइ हासिल गर्‍यो ।

६. बेलायतमा भारतीय मूलका पहिलो प्रधानमन्त्री

बेलायतमा पहिलोपटक भारतीय मूलका ४२ वर्षीय ऋषि सुनक प्रधानमन्त्री भए । बेलायत त्यही देश हो, जो दोस्रो विश्वयुद्ध अघि ‘कहिल्यै घाम नअस्ताउने महासाम्राज्य’ थियो । र, बेलायती साम्राज्यको एउटा महत्त्वपूर्ण उपनिवेश थियो– भारत । कुनै वेलाको उपनिवेशिक देशको नागरिकाको सन्तान साम्राज्य देशको कार्यकारी प्रमुख हुनुलाई एक ठूलो र रोचक घटना मानियो । बेलायतमा आर्थिक संकटको श्रृंखला ब्रेक्जिटबाटै शुरुवात भएको थियो । तर, त्यसपछि थप दुई ठूलो परिघटनाहरू आए– कोविड–१९ र युक्रेन युद्ध । उनी कोभिड–१९ चरमोत्कर्षमा पुगेको बेला सुनक बोरिस जोहन्सन सरकारका अर्थमन्त्री थिए ।

ऋषि अर्थमन्त्री हुँदा ३९ वर्षका थिए । उनको शैक्षिक पृष्ठभूमि र आर्थिक विशेषज्ञताले त्यो जिम्मेवारीका लागि प्रेरित गरेको थियो । अक्सफोर्ड तथा स्टान्डफोर्डका उत्पादन सुनक अर्थशास्त्रकै विद्यार्थी हुन् । बेलायतका पछिल्लो पुस्ताका राजनीतिज्ञमा उनलाई आर्थिक मामिलाको राम्रो ज्ञाता मानिन्छ। ऋषि सुनकको जन्म सन् १९८० मा वेलायतको साउथेम्पटनमा भएको थियो । उनले लिंकन, अक्फोर्ड, स्टान्डफोर्डमा दर्शन, राजनीतिशास्त्र र अर्थशास्त्र पढेका थिए । उनी बेलायतमा पहिलो भारतीय मूलको हुनुका साथै पहिलो एसियाली र पहिलो ‘कलर’ प्रधानमन्त्री समेत बन्न पुगे। सुनक भारतीय मूलका मातापिताका सन्तान हुन् । सुनकको परिवार भारतको पञ्जाबबाट हजुरबाको पालमा अफ्रिका हुँदै बेलायत पुगेको थियो । उनका पिता यशवीर सुनकको जन्म केन्यामा भएका थियो भने माता उषा सुनक भारतीय मूल की तान्जानीयाली हुन् । वैदेशिक आप्रवासनको क्रममा सुनक परिवारले अनेकै उतरचडाब भोगेको थियो । सन् १९६० देखि उनको परिवार निरन्तर बेलायतमा बस्दै आएको छ।

ऋषि सुनकले उनी भारतीय खर्बपति नारायण मुर्तीकी छोरीसँग विवाह गरेका छन् । ऋषि पत्नी अक्षता मूर्तीको अहिले पनि भारतीय नागरिकता कायमै छ । ऋषिको प्रधानमन्त्रीत्व आप्रवासी तथा अल्पसंख्यक समुदायको बढ्दो विश्व स्वीकार्यताको प्रमाण मानियो । नागरिक तथा बहुसांस्कृतिक राष्ट्रवादको युगमा संकीर्ण राष्ट्रवाद शिथिल हुँदै गएको प्रमाण पनि मानियो ।

७. कतारमा विश्वकप फुटबल

मा सानो एसियाली मुलुक कतारले फिफा विश्वकप फुटबलको आयोजना गर्‍यो, जसमा अर्जेन्टिना विजेता र फ्रान्स उपविजेता बने । यो विश्वको फाइनल खेल सर्वाधिक प्रतिस्पर्धातमक र रोचक भएको थियो । यसलाई खेल विश्लेषकले ‘फाइनलको पनि फाइनल’ भनेर उच्च महत्त्व दिए । अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सी विश्वकप चुम्न सफल भए । उनी विश्व फुटबलका लोकप्रिय खेलाडी हुँदाहुँदै पनि आफ्नो देशलाई विश्वकप दिलाउन यसअघि असफल रहँदै आएका थिए ।

यसपटकको जितले मेसीले त्यो दुर्भाग्यबाट मुक्ति पाए । अर्जेन्टिनाका जनताले ठूलो खुसियाली मनाए । अर्जेन्टिनाले ३६ वर्षपछि फेरि विश्वकप फुटबल जितेको थियो ।२३ वर्षीय फ्रान्सेली स्टार खेलाडी केलियन एम्बापेले दर्शकको प्रेम र सद्भाव जिते । उनी विश्वको ९२ वर्षको इतिहासका फाइनल खेलमा ह्याट्रिक गर्ने दोस्रो खेलाडी बने । उनले यो विश्वकपमा ८ गोलसहित गोल्डेन बुटको उपाधिसमेत हात पारे ।

 

तपाईको प्रतिक्रिया