काठमाडौं – शुक्रवार कम्बोडियामा भएको एउटा अति नै दुःखद घटनाले एउटा नेपाली परिवारमात्र नभएर समस्त नेपालीलाई नै विक्षिप्त पारेको छ । उक्त घटनाको भिडियो हेरिरहँदा शायद नै त्यस्ता मानिस होलान्, जसको आँखाबाट आँशु झरेन होला । कम्बोडियाको एउटा क्यसिनोमा भयानाक आगो लाग्दा क्यासिनोभित्र रहेका नेपाली निराकर पाण्डेको दुखद निधन छ । उनको निधन आगोमा जलेर भन्दा पनि आफ्नो ज्यान बचाउनका लागि क्यासिनोको १२ तल्लाको कोठाको झ्यालबाट हाम्फल्दा भएको हो ।पाण्डेले जीवन बचाउने संंघर्ष गर्दैगर्दा आफ्ना परिवारजनलाई भिडियो कल गरेका थिए । उनले भिडियो कलमार्फत आफ्ना परिवारजनसंग कुराकानी गरेका भिडियोले यतिबेला सबैलाई भावुक र मर्माहत बनाएको छ । शुक्रवार भएको कम्बोडियाको उक्त घटनामा ज्यान गुमाउने निराकार पाण्डे बिर्तामोड नगरपालिक– १ का वडा अध्यक्ष अग्निप्रसाद पाण्डेका माइला छोरा हुन् ।
निराकारका चार दाजुभाई छन् । जसमा उनका जेठा दाई काठमाडौंमा बस्छन् भने कान्छा भाई अमेरिकामा र साइला भाई भने घरमा नै बस्छन् । छोराको निधनको शोकमा रहेका अग्निप्रसाद भन्छन् – ‘निराकारको शव कम्बोडियामा आइसमा हालेर राखिएको जानकारी प्राप्त भएको छ । उनको शव नेपाल ल्याउन प्रक्रिया सुरु गरिएको छ । आवश्यक कागजपत्र थाइल्यान्डमा रहेको नेपाली दूतावासमा पठाइसकिएको छ ।’शव नेपाल ल्याउन एमाले नेता अग्नि खरेलले पहल गरिरहेका छन् । थाइल्यान्डमा रहेको नेपाली दूतावासका प्रथम अधिकृत खगराज पाण्डेलाई अग्नि खरेलले भनेपछि खगराज पाण्डे आफैँ कम्बोडिया पुगेर निराकारको शव बुझ्नु भएको अग्निप्रसाद बताउँछन् ।
अधिकृत पाण्डेले नै कानुनी प्रक्रिया पूरा गरी थाइल्यान्डबाट शव पठाइदिने र मंगलवारसम्म शव नेपाल आइपुग्ने उनले जानकारी दिए । शव घरमै ल्याएर अन्त्येष्टि गरिने अग्निप्रसादले बताउँछन् । उनी भन्छन्– ‘बाँचे बाँच्छु मरे मर्छु भन्दै हाम फालेर छोराले साहसिक काम नै गरे भन्ने लाग्छ ।’ कम्बोडियाको क्यासिनोमा भएको आगलागिपछि नेपाली निराकार पाण्डेको निधनले सम्पूर्ण नेपाल नै शोकाकुल बनेको छ । उनले अन्तिम अवस्थामा गरेको भिडियोले त सबैलाई भावविह्वल बनाएको छ ।निराकरले क्यासिनोमा आगलागी हुने बित्तिकै राति साढे ११ बजे उनले घर–परिवारलाई खबर गरेका थिए । आगो दन्किरहेको थियो, बाध्यात्मक मृत्युवरण गर्न विवश उनी आफ्ना बुवा अग्निप्रसाद पाण्डे, आमा लीलादेवी पाण्डे, श्रीमती शशीकला लोहनी, छोरा आर्मनसहित परिवारका प्रायः सबै सदस्यहरुलाई आफ्नो मृत्युको सन्देश सुनाइरहेका थिए ।
राति साढे ११ बजेदेखि बिहान ४ बजेसम्म दाजु निराकारले आफूबाहेक परिवारका सबै सदस्यसंग कुराकानी गरेको भाइ निश्चल पाण्डेले बताए ।ठेक्कापट्टा व्यवसाय गर्ने निराकार करिब दुई महिनाअघि गत नोभेम्बर ९ तारिखका दिन दोस्रो पटक थाइल्यान्ड गएका थिए । त्यहाँबाट घुम्नका लागि निराकार थाइल्यान्डको सीमानजिकैको कम्बोडियास्थित पोइपेट सहर गएका रहेछन् । निराकार बसेकै १८ तलाको ग्राण्ड डायमन्ड सिटी होटेल र क्यासिनोमा बिहिबार राति भीषण आगलागी भएको थियो । आगोले होटेललाई आफ्नो चपेटामा लियो ।होटेलको चार तलामाथि आगलागी भएपछि त्यसमाथि बसेका अधिकांश मानिस कोठामै थुनिए । त्यहाँबाट भागेर ज्यान जोगाउने उपाय थिएन । आगलागीमा परी निराकारसहित कम्तीमा २४ जनाको ज्यान गएको खबर छ । ७० बढी घाइते र कयौँ मानिस बेपत्ता रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । हामफाल्नुअघि उनले आँखाबाट आँसु झार्दै श्रीमती, बुबा, छोरा, भाइ, आफन्तजनसँग लामो गफगाफ गरेका थिए । दाजुले भिडियो कुराकानीमा अधिकांश समय आफ्ना १० वर्षीय छोरा आर्मनलाई सम्झिएर बोलेको कुराकानी झलझली याद आइरहेको निश्चलले बताए ।
निराकारले भिडियो संवादमा भनेका रहेछन्– ‘सानी, मेरो आँखाको नानी, बाबु म तिमीलाई धेरै माया गर्छु है । बाबा अलवेज लभ यु । जहाँ भए पनि जसरी बसेपनि बाबाले तिमीलाई सधैँ सम्झिनु हुन्छ है बाबु । आर्मन इज द वेस्ट है सानु ।’उनले भने– ‘अब सुन है, मामुलाई धेरै माया गर्नू, अग्नि बुबा, लीला मामुलाई माया गर्नू है । लमजुङ बुबा मामुलाई माया गर्नू सबैभन्दा ठूलो कुरा राम्रो मान्छे बन्नुपर्छ है छोरा ।’कसैलाई चिट गर्नु हुँदैन, फ्रड गर्नु हुँदैन । आफूले सकेको सहयोग गर्नुपर्छ है छोरा । बिशेष गरी मामाहरूलाई कहिल्यै पनि चित्त नदुखाइ दिनु । माइजूहरूलाई चित्त नदुखाइदिनु तिमीले । उहाँहरूले धेरै गर्नुभएको छ, माइजूहरूले । लमजुङ बुबा आमाले पनि धेरै गर्नुभएको छ । है सानु तिमी धेरै ठुलो मान्छे बन्नू । ज्ञानी हुनू ।अनि रह्यो दिनेश सिलवाल, जो तिमी ठूलोबाबा भन्छौ । है उमेरले ऊ मभन्दा कान्छो भएपनि म दाई भन्छु उसले मलाई दाजु भन्छ । उसलाई एकदम रेस्पेक्ट गर्नू, है बाबु,’ उनले भनेका थिए ।‘भोलिका दिनमा तिमीलाई उसैले सहयोग गर्छ है बाबु, राम्रो मान्छे बन्न । कसैलाई चिट गर्नुहुन्न छोरा । मैले जे जति दुःख गरेँ, हुन्छ कि भनेर कोसिस गरेँ छोरा । मैले सकिनँ है । तिमीसँग बिताएका पलहरू सधैँ यादगार रहनेछन्’ भन्दै उनले परिवारका सबै सदस्यसंग एक–एक गरि कुरा गरेका थिए ।