काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एकीकृत समाजवादीको अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवसँग छलफलमा छन् । स्रोतकाअनुसार उनीहरुबीच ललितपुरको हात्तीवनस्थित गोकुल भण्डारीको निवास सिटीस्केप हाउजिङ्गमा भेटवार्ता जारी छ ।
प्रधानमन्त्री प्रचण्डले जसपा र नेकपा एसलाई सरकारमा सहभागी गराउने कसरत गरेको बुझिएको छ । यद्यपि जसपाले सरकारलाई समर्थन गरेको छ तर, सरकारमा जाने नजानेबारे निर्णय गरिसकेको छैन ।नेकपा एसले भने ‘पर्ख र हेर’को निर्णय लिएको छ ।
तत्कालीन सत्ता गठबन्धन छोडेर प्रचण्डले एमालेसँगको सहकार्यमा सरकारको नेतृत्व गरेपछि नेकपा एस मौन छ । पार्टीका अध्यक्ष नेपालले प्रचण्डले आफूसँग सल्लाह नगरेको गुनासो गरेको थिए ।
यिनै पछिल्ला राजनीतिक घटनाक्रमकाबीच प्रधानमन्त्री प्रचण्डले नेपाल र यादवसँग छलफल थालेको हुन् । दुवै पार्टीलाई सरकारमा सहभागी गराएर बहुमतको सरकार बनाउने प्रधानमन्त्री प्रचण्डको तयारी रहेको बताइएको छ ।