काठमाडौं – नेपालमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बनेको सरकारलाई बधाई दिंदै चीन सरकारले बिआरआईलाई नयाँ चरणमा पुर्याउने विश्वास लिएको छ। विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा चीन सरकारका प्रवक्ता माओ निङले उक्त कुरा बताएकी हुन्।
‘नेपालको नयाँ प्रधानमन्त्रीको रुपमा नियुक्ति हुनु भएकोमा प्रचण्डलाई हार्दिक बधाई ज्ञापन गर्दछौं। हामीले नेपाल सरकार र जनताको साझा प्रयास र विभिन्न राजनीतिक दल र राजनीतिक शक्तिहरूको परामर्श र समन्वयबाट नेपालमा दिगो स्थायित्व र सामाजिक आर्थिक विकास हुने विश्वास लिएका छौं,’ प्रवक्ता निङले पत्रकार समक्ष बताएकी छन्, ‘हामी नेपालको नयाँ सरकारसँग बोर्डर मैत्री आदानप्रदान र सहयोगलाई विस्तार गर्न र गहिरो बनाउनका साथै उच्च गुणस्तरको बेल्ट एण्ड रोड (बिआरआई) सहकार्य साझेदारीलाई नयाँ प्रेरणा दिन तयार छौं।’
नेपाल र चीन परम्परागत मित्र र छिमेकी भएको नाताले चीनले नेपालसँगको सम्बन्धलाई गहिरो महत्त्व दिने पनि निङले बताएकी छन्। चीन सरकार र नेपाल सरकार बीच राष्ट्रपति सी चीन फिङको महत्वपूर्ण विश्वव्यापी रणनीतिक विकास परियोजनाको रूपमा अघि बढाइएको बिआरआईको एमओयूमा सन् २०१७ मा हस्ताक्षर भएको थियो। सडक र पूर्वाधारमा लगानी गर्ने गरी चिनियाँ लगानी भित्र्याउने उक्त परियोजनाको आर्थिक व्यवस्थापनको पक्षमा भने छलफल भएको छैन।