काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहले शनिवार जनकपुरधामस्थित जानकी मन्दिरमा विशेष पूजापाठ गरेका छन् । उनी हिजो (शुक्रवार) जनकपुरधाम पुगेका थिए । जानकी मन्दिरमा पूर्वराजालाई स्वागतका लागि रातो कार्पेट ओछ्याइएको थियो । मन्दिरका महन्त रामतपेश्वर दास र सहायक महन्त रामरोसन दासले पूर्वराजालाई मायाको चिनो प्रदान गरेका थिए ।
पूजापाठपछि उनी यात्री निवास गएका थिए । शुक्रवार जनकपुर पुगेका उनी साँझ गंगासागरमा दैनिक आयोजना हुने महागंगा आरतीमा सहभागी भएका थिए । पूर्वराजासँग पूर्वमहारानी कोमल शाह र छोरी पनि सँगै जनकपुर पुगेका थिए ।