काठमाडौँ – विभिन्न उद्देश्यले जापान प्रवेश गरेका नेपालीहरुले यहीको पासपोर्ट लिने क्रम बर्सेनि बढ्दो क्रममा रहेको छ । जापानको कानून तथा न्याय मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो समय जापानको पासपोर्ट लिने नेपालीको संख्या बढ्दो रहेको हो ।
कानून मन्त्रालयको तथ्यांक हेर्दा जापानी पासपोर्ट लिने नेपालीहरुको संख्या २०२० को तुलनामा २०२१ मा वृद्धि भएको छ । अहिलेसम्म कति नेपालीले जापानको पासपोर्ट लिए भन्ने विषयमा मन्त्रालयले भने एकिन गर्न नसकिने बतायो ।
‘हामीले अहिले तत्काल बताउन सक्ने भनेको पछिल्ला वर्षको तथ्यांकमात्रै हो’, कानून मन्त्रालयको सूचना विभागले भन्यो, ‘यदि अहिलेसम्मको सबै तथ्यांक चाहिने हो भने औपचारिक निवेदन दिनुहोस् ।’
सन् २०१९ को तथ्यांकले १०० जना नेपाली नागरिकले जापानको राहदानी लिएको देखाउँछ । २०२१ मा जापानी पासपोर्ट लिने नेपालीहरु संख्या १०८ पुगेको छ । पछिल्लो समय पासपोर्ट प्राप्त गर्न निवेदन दिने भियतनाम र नेपालका नागरिकहरु धेरै रहेको कानून मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।