काठमाडौँ – लामो रस्साकस्सीका बीच गोरखा नगरपालिकाले ठूलोआँगनमै सालिक स्थापना गर्ने निर्णय गरेको छ। बुधबार साँझ अबेर सम्पन्न सर्वदलीय बैठकले पृथ्वीनारायण शाहको सालिक ऐतिहासिक तथा पुरातात्विक स्थल ठूलोआँगनमै राख्ने निर्णय गरेको हो।
गत भदौ १३ गते निर्णय गरेर नगरपालिकाले गत हप्तादेखि सालिक स्थापनाको प्रक्रिया सुरु गरेको थियो। सालिक स्थापना गर्ने वैकल्पिक ठाउँ हुँदाहुँदै पुरातात्विक तथा ऐतिहासिक ठूलोआँगनमा राख्न लागिएको भन्दै स्थानीयबासीले अवरोध गरेका थिए। सालिक स्थापना गर्न खन्न थालिएको खाडलसमेत उनीहरुले पुरेका थिए। आँगनको बीच भागमा सालिक राखेपछि सवारी साधन आवतजावतमा समस्या हुने स्थानीयको चिन्ता थियो।
वैकल्पिक बाटो खुलाइदिने प्रतिबद्धता दोहोर्याउँदै नगरपालिकाले त्यस क्षेत्रको पर्यटन विकास गर्न आँगनको बीचमै सालिक र नेपालको नक्सा राख्ने निर्णय गरेको हो।