काठमाडौं – मधेसी आयोगले थारु र मुस्लिमलाई मधेसी समुदायको सूचीबाट हटाउने निर्णय गरेको छ। आयोगको मसिंर २० गतेको बैठकले नेपालमा मधेसी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन-२०७८ बाट उपसमूह १ मा रहेको थारु र २ मा रहेको मुस्लिमलाई हटाउने निर्णय गरेको आयोगका अध्यक्ष डा विजयकुमार दत्तले जानकारी दिए।
मधेसी आयोगले गरेको निर्णय कार्यन्वयनको लागि आयोगकी उपसचिव सबिता डंगोलले प्रधानमंत्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाएकी छन्। थारु र मुस्लिम समुदायका विभिन्न संघ-संगठनहरुले थारु र मुस्लिम समुदायको छुटै पहिचान र सभ्यता रहेको र सो मधेसी समुदायसँग नमिल्ने भन्दै मधेसी क्लस्टरमा आफुहरुलाई नराख्न मधेसी आयोगमा निवेदन दिएका थिए।
आयोगका अध्यक्ष दत्तका अनुसार सो निवेदनमाथि टेकेर आयोगले थारु र मुस्लिमलाई मधेसीबाट हटाउने निर्णय गरेको हो। मधेसी आयोगले २०७८/७९ को बार्षिक प्रतिवेदनमार्फत् राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष थारु र मुस्लिम सहित १४९ जात (थर)लाई मधेसीको रुपमा सिफारिस गरेको थियो।