काठमाडौं – सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले समानुपातिक सांसद टुंगो लगाउन नसकेपछि पार्टी सभापति शेरबहादुर देउवालाई जिम्मा दिइएको छ।
कांग्रेस मुख्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठक असफल भएपछि समानुपातिकको सूची तयार गर्ने जिम्मा सभापति देउवालाई दिएको प्रवक्ता प्रकाशरण महतले बताए। देउवाले सूची टुंगो लगाउन बालुवाटारमा पदाधिकारी बैठक बोलाएका छन्। केन्द्रीय कार्यसम्पादन समितिमा प्राप्त सुझावका आधारमा सभापतिले सूचीलाई अन्तिम रूप दिनेछन्। प्रवक्ता महतले भने, ‘केन्द्रीय कार्यसम्पादन समितिमा आएका सुझावलाई समेटेर पार्टी सभापतिले सुची तयार गर्नुहुनेछ।’
कांग्रेसले समानुपातिकतर्फ ३२ सिट पाएको छ। संघीय संसद्मा अनिवार्य रूपमा ३३ प्रतिशत महिला पठाउनुपर्ने प्रावधान छ। यो प्रावधानअनुसार कांग्रेसले २९ महिला र ३ जना पुरुष पठाउनुपर्नेछ। पुरुषको कोटामा विमलेन्द्र निधि, प्रकाशशरण महत, गोपलमान श्रेष्ठ र जीवन परियारले दाबी पेस गरेका छन्। निर्वाचन आयोगले दलहरूलाई अपरान्ह ४ बजेभित्र अन्तिम सूची पेस गर्ने समयसीमा तोकेको छ।