काठमाडौँ – नेपाली कांग्रेस महामन्त्री तथा झापाको क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले आफू अहिले मन्त्री पदको लाइन नरहेको बताएका छन्।नेपाल प्रेस युनियन झापा शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै शर्माले मन्त्री पदमा अरू नै सांसदहरूलाई प्राथमिकता दिने बताए। उनले भने, ‘सबै स्पष्ट भए हुन्छ कि म अहिले नै मन्त्री पदका लागि लाइनमा छुइनँ।’
समय आएपछि मात्र उनले मन्त्री पदमा बस्ने बताए। तर पाँच बर्षे संसदको कार्यकालभित्र मौका मिले मन्त्री बन्ने उनको भनाइ थियो। शर्माले भने, ‘अहिले नै मन्त्री खान्छु भन्ने विषय मेरा लागि सान्दर्भिक हुँदैन। म पार्टीको महामन्त्री पनि हो। मैले जिम्मेवारीपूर्वक अन्य साथीहरूलाई सहयोग गर्नुपर्छ।’ पार्टी सभापति शेरबहादुर देउवालाई अब प्रधानमन्त्री पदको लोभ नराख्न उनले आग्रह गरे। पार्टीका अन्य योग्य नेताहरूलाई प्रधानमन्त्री पद छोडिदिन उनको भनाइ थियो।
‘चाहे रामचन्द्रजी, चाहे शेखर कोइरालाजी जसलाई भए पनि प्रधानमन्त्री पद छोड्नुभयो भने त्यो स्वागतयोग्य कदम हुनेछ,’ शर्माले भने।तर आफ्नो समर्थन गगनकुमार थापाका लागि हुने उनले स्पष्ट पारे। थापा प्रधानमन्त्री हुँदा नागरिकको अपेक्षा पूरा हुने संभावना बलियो रहने शर्माको तर्क थियो। कांग्रेसको संसदीय दलको नेतामा धेरै नेताहरूले अपेक्षा राखेकोमा त्यसका लागि पार्टीमा गहन छलफल हुने उनको भनाइ थियो। उनले भने, ‘लोकतन्त्रको सौन्दर्य भनेकै यही हो। छलफल हुन्छ, अनि निकास निस्किन्छ।’