काठमाडौँ – विभागीय टोली नेपाल पुलिस क्लब काठमाडौंमा जारी प्रधानमन्त्री (पीएम) कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । समूहका लगातार तेस्रो जित निकाल्दै पुलिसले सेमिफाइनलमा स्थान बनाएको हो ।
त्रिवि मैदान कीर्तिपुरमा बिहीबार भएको खेलमा पुलिसले लुम्बिनी प्रदेशलाई ६ विकेटले हरायो । लुम्बिनीले दिएको एक सय ८९ रनको लक्ष्य पुलिसले ३७.१ ओभरमा चार विकेटको क्षतिमा एक सय ९२ रन जोड्दै लक्ष्य पूरा गरेको थियो ।
पुलिसको जितमा दीपेन्द्र सिंह ऐरीले अविजित ४३ रन बनाउनुभयो । सुनिल धमलाले ३६, आरिफ शेखले ३५, कुशल भुर्तेलले ३२ र अमित श्रेष्ठले २८ रन बनाउनुभयो । बलिङमा लुम्बिनीका अनिल खरेलले दुई तथा दुर्गेश गुप्ता र मुहमद हुसेनले एक एक विकेट लिनुभयो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले ४४.२ ओभरका सबै विकेटको क्षतिमा उक सय ८८ रन बनाएको थियो । लुम्बिनीका लागि कप्तान देव खनालले ७४ रन बनाउनुभयो । विशाल विक्रम केसीले ३०, प्रज्वल थापाले २३, दुर्गेश थापा र मोहमद हुसेनले समान ११/११ रन बनाउनुभयो ।
बलिङमा पुलिसका दीपेन्द्रसिंह ऐरीले चार विकेट लिनुभयो । सागर ढकाल र करण केसीले दुई दुई विकेट लिनुभयो । जितसँगै समूह ‘बी’ मा रहेको पुलिसले ६ अंक बनाएको छ । दुई अंक बनाएको लुम्बिनी दोस्रो स्थानमा छ ।