काठमाडौँ – लोकगायक पशुपति शर्माको नयाँ गीत ‘आफ्नो आफ्नो दुःख’ यतिबेला चर्चित भइरहेको छ । युट्युबको नेपाल ट्रेन्डिङमा म्युजिकतर्फ दोस्रो नम्बरमा छ अहिले यो गीत । समाजको नजिक रहेर यथार्थपरक, सन्देशमूलक गीत ल्याउँदै आएका र त्यसमा पनि हाँस्य–ब्यङग्य शैलीका गीतहरू बढी ल्याइरहेका पशुपतिको ‘आफ्नो आफ्नो दुःख’ भने मार्मिक छ ।
यस गीतमा आफैले कोरेका शब्दमा आफै संगीत भरेर एकल स्वर दिएका हुन् पशुपतिले । दुःखको गीत भएपनि शब्दसँगै संगीत मिठो भएकाले श्रोता दर्शकले निकै रुचाएका छन् । गीतको शब्दले छोएको श्रोता दर्शकको प्रतिक्रिया छ । ‘मलाई पनि छ, उनलाई पनि छ आफ्नो आफ्नो दुःख त जूनलाई पनि छ’ योसँगै गीतका अन्य हरेक टुक्का पनि रुचाइएका छन् । हरेक टुक्कामा थुप्रै श्रोता/दर्शकले टिकटक बनाएका छन् । गीतको भिडियो भने कुनै तामझामबीना सामान्य बनाइएको छ । यसले के पनि सन्देश प्रवाह गरेको छ भने गीत राम्रो भए सामान्य भिडियोमा पनि चल्छ । भिडियोमा पशुपति स्वयं प्रस्तुत छन् ।
दुर्गा पौडेलले छायाँकन एवं निर्देशनको कार्यभार सम्हालेको भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका हुन् । पशुपतिले आफ्नै अफिसियल युट्युब च्यानलमार्फत ८ मिनेटको उक्त गीत सार्वजनिक गरेका हुन् ।