काठमाडौं – पञ्चदिप युवा क्लब, रत्ननगर चितवन प्रथम पेन्गुइन कप नकआउट फुटबल प्रतियोगिताको फाइनल खेल जित्न सफल भएको छ । फाइनल खेलमा समेत उत्कृष्ट खेल खेल्दै क्लबले पहिलो हुँदै ट्रफी ,मेडल र नगद २ लाख २२ हतार २ सय २२ रुपैयाँ प्राप्त गर्यो ।
सेमिफाइनल खेलमा कालिका ५ लाई २-० ले हराउँदै पञ्चदिप युवा क्लब फाइनलमा पुगेको थियो । चितवनको कालिका-१ स्थित गडुवा खेलमैदानमा सम्पन्न फाइनलमा पञ्चदिपले रोयल जिप सूर्यपुर एफसीलाई ३-१ ले हराउँदै उपाधि जित्न सफल भएको हो ।
विजया दशमीको अवसरमा लालीगुराँस टोल विकास संस्था, गडुवा, चितवनको आयोजनामा सम्पन्न प्रतियोगिताको उपविजेता रोयल जिमले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो । दुवै फुटबल टिममा देशकै राष्ट्रिय खेलाडीहरूको वचश्व रहेको र विदेशी खेलाडी पनि समावेश गरिएकोले खेल हेर्ने दर्शकहरू भिड देखिन्थ्यो ।
सामाजिक गतिविधिसँगै पञ्चदिप युवा क्लब, रत्ननगर १२ चितवन फुटबल र भलिबल प्रतियोगितामा नाम चलेको क्लब हो । विगत लामो समयदेखि क्लबले सफलता हात पार्न सकेको थिएन । पञ्चदिप युवा क्लबको हरेक गतिविधिमा क्रियाशील शिलन बरालकाअनुसार समाजको हरेक सकारात्मक गतिविधिमा युवा संगठित हुनु जरुरी रहेको बताउँदै यसले आफ्नो मात्र पहिचान नभई समाजकै पहिचान हुन्छ ।
वैदेशिक रोजगारीमा जापान रहेका पञ्चदिप युवा क्लबका पूर्व खेलाडी तथा प्रशिक्षक राजु बखते आफ्नो टिम प्रतिष्ठित खेलमा विजयपछि दङ्ग छन् । ‘आउँदो दिनमा पनि क्लबले आफ्नो साख जोगाई राख्न अझै मेहनतको खाँचो छ,’ उनले भने । त्यस्तै पञ्चदिप युवा क्लबका संस्थापक सचिव एवं पूर्व अध्यक्ष कविकिरण न्यौपाने युवा अवस्थापछि उनीहरू अध्ययन अनि रोजगारीको निम्ति देश बाहिर पनि जान पर्ने भएकोले यदाकदा क्लबमा रिक्तता आउने गरेको बताउँछन् । ‘धेरैपछि आफू रहेको क्लबले सफलता हात पारेकोमा औधी खुसी छु, सबै खेलाडी र खेलप्रेमीहरूमा बधाई भन्न चाहन्छु,’ न्यौपानेले भने ।