काठमाडौं – संयुक्त राज्य अमेरिकाले जापानको विशेष आर्थिक क्षेत्रमा चीनद्वारा गरिएको मिसाइल प्रक्षेपणको निन्दा गरेको छ । उक्त परीक्षण सैन्य अभ्यासको एक भाग थियो ।
अमेरिकी संसद्की सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको प्रतिक्रियास्वरूप चीनले सो कदम चालेको राष्ट्रिय सुरक्षा परिषद् रणनीतिक सञ्चार संयोजक जोन किर्बीले बताएका छन् ।
उनले चीनलाई पेलोसीको ताइवान भ्रमण बारे उत्तेजित नहुन आग्रह गरेका छन् । अगस्ट ४ मा चीनले ताइवानको उत्तरपूर्वी र दक्षिणपश्चिमी जलक्षेत्रमा थुप्रै ब्यालेस्टिक मिसाइलहरू प्रक्षेपण गरेको छ जसले ताइवानको राष्ट्रिय सुरक्षालाई खतरामा पारेको छ र यस क्षेत्रमा क्षेत्रीय तनाव पनि बढाएको छ ।
लाइभ-फायर ड्रिलहरू टापुको वरिपरि रहेका विभिन्न सात क्षेत्रहरूमा सुरु गरिएको छ । चिनियाँ पीएलएले ताइवानको क्षेत्र र हवाई क्षेत्र नजिक संयुक्त लडाइ प्रशिक्षण अभ्यास आयोजना गरेको सिन्ह्वा समाचार एजेन्सीले यस अघि नै जनाइसकेको छ ।
बढ्दो सैन्य गतिविधिले यस क्षेत्रको राजनीतिक र सामरिक सन्तुलनमा फेरबदल आउन सक्ने देखिन्छ । यसैबिच ताइवान सरकारले अन्तर्राष्ट्रिय समुदायलाई ताइवानमाथि चीनको सैन्य दबाबको निन्दा गर्न आग्रह गरेको छ ।