काठमाडौं – स्याङ्जामा उत्पादन भएको जुनारलाई जाम बनाएर जापान निर्यात गरिने भएको छ । जिल्लामा उत्पादन भएका जुनारले बजार नपाएपछि जाम बनाउने काम सुरु गरिएको हो ।
अमिलो जातको फलफूल खेती गर्दै आएका अगुवा कृषक बोधराज अर्यालले जुनारबाट जाम गराउन उद्योग सञ्चालन गरेका छन् । बजार नपाएर हैरान बनेका अर्यालले अहिले आफ्नै घरमा उत्पादन गरेको जाम जापानमा निर्यात गर्न थालेका हुन् ।
पुतलीबजार नगरपालिका वडा नम्बर-११ स्थित मायाटारीमा उत्पादन गरेको जाम ‘फार्मर्स प्यासन’को नामबाट जापानको प्रमुख सहरहरूमा बिक्रीवितरण गर्ने तयारी भएको कृषक अर्यालको भनाइ छ । जापानमा नेपाली ब्रान्डको आकर्षण रहेको अर्यालले बताए । फार्मर्स प्यासन त्यहाँको पुरानो ब्रान्ड हो ।
अहिले जुनारको जाम पनि थपिन लागेको हो । यही ब्रान्डको नेपाली कफी, मह, सुन्तलाको जाम जापानी बजारमा लोकप्रिय बनेको छ । प्रति केजी एक हजार रुपियाँमा जापान निर्यात गर्न लागिएको हो ।
यसको उत्पादन लेबलिङ, प्याकेजिङ अन्तिम चरणमा पुगेको छ । जाम बनाउने उद्योगमा सिजनमा दैनिक ३० जनाले र नियमित पाँच जनाले काम गरिरहेको अर्यालको भनाइ छ । यो पटक जिल्लामा १० देखि १५ टनसम्म जुनार उत्पादन भएको अर्यालले जानकारी दिए ।