काठमाडौं – बैंकिङ कारोबारमा आम ग्राहकले चेकलाई भन्दा डिजिटल उपकरणमार्फत गरिने भुक्तानीलाई रुचाउन थालेका छन्।
विश्व डिजिटलाइज्ड भएसँगै मुलुकको बैंकिङ कारोबारमा क्रमशः चेक विस्थापित हुन थालेको छ। तर, अहिले यस्तो कारोबार डिजिटलमा परिणत हुनेक्रम बढेको छ। कोभिडको पहिलो चरणको महामारी फैलिएसँगै एनसीएचएलको कारोबार बाहेक क्यूआर कोड, मोबाईल बैंकिङ, वालेट लगायतको डिजिटल प्रविधिमार्फत हुने कारोबार फस्टाउँदै गएको छ।
नेपाल क्लियरिङ हाउस (एनसीएचएल)को तथ्यांकअनुसार आर्थिक वर्ष (आव) २०७७/७८ मा सर्वसाधारणले कुल ४ करोड ४७ लाखभन्दा बढी पटक भुक्तानी कारोबार फछ्र्योट गरेका छन्। यो आव २०७६/७७ को तुलनामा ११७ प्रतिशतले बढी हो।
सो आवमा यस्तो कारोबार २ करोड ६ लाख २४ हजार पटक भएको थियो। कुल कारोबारको आकारमा बढी हिस्सा चेकमा भन्दा एनसीएचएल र कनेक्ट आईपीएस जस्ता प्रणालीमार्फत भएका छन्।
कुल कारोबार आकारको ६७ दशमलव ८१ प्रतिशत डिजिटल कारोबारले ओगटेको छ। यसअन्तर्गत एनसीएचएल आईपीएसमार्फत १ करोड १३ लाख र कनेक्ट आईपीएसमार्फत १ करोड ८९ लाख पटक कारोबार हँुदा ३ करोड बढी पटक कारोबार भएको छ। यसै क्रममा चेकको हिस्स भने कुल कारोबार आकारको ३२ दशमलव १९ प्रतिशत रहेको छ। सो अवधिमा १ करोड ४४ लाख ११ हजार वटा चेक भुक्तानी भएको हो।
यसरी तथ्याङ्क हेर्दा चेकबाट हुने कारोबारको वृद्धि स्थिर हुँदै गइरहेको एनसीएचएलले बताएको छ। संस्थाकाअनुसार डिजिटल भुक्तानी प्रणालीहरूको उपयोग उल्लेख्य रुपमा वृद्धि हुँदै गएको छ।
यसरी डिजिटल भुक्तानीको माध्यमलाई आम ग्राहकले रुचाएकाले चेकमार्फत हुने भुक्तानी क्रमशः विस्थापित हुनसक्ने आंकलन गर्न सकिन्छ। चेकको प्रयोगमा बैंक तथा वित्तीय संस्थाहरूलाई महँगो पनि पर्न जाने बैंकरहरू बताउँछन्। यसको विकल्प अब नगदरहित र कागजरहित बैंकिङ प्रणालीमा जाँदा डिजिटल भुक्तानीलाई नै अपनाउन जरुरी भएको नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहाल बताउँछन्। यसैले पनि अब चेकलाई क्रमशः विस्थापित गरेर डिजिटल भुक्तानीका माध्यमलाई स्थापित गर्न जरुरी भएको उनीहरूको तर्क छ।
यद्यपि, रकमको आधारमा भने चेकमार्फत धेरै भुक्तानी भएको देखिए पनि अघिल्लो आवको तुलनामा यसको कारोबार वृद्धिदर डिजिटल कारोबारभन्दा कम देखिन्छ। गत आवमा कुल १ सय ३० खर्ब रुपैयाँ फछ्र्योट भएको छ।
पछिल्लो कुल कारोबार रकम नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ३ गुणा बढी देखिन्छ। केन्द्रीय तथ्यांक विभागको आर्थिक वर्ष (आव) २०७७/७८को प्रारम्भिक आँकडाअनुसार जीडीपी ४२ खर्ब ६६ अर्ब छ।
यसअघिको आवमा यस्तो कारोबार रकम ९६ खर्ब ८९ अर्ब रुपैयाँ रहेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा चेकको कारोबार २१ प्रतिशतले, एनसीएचएल आईपीएसमा ९४ प्रतिशतले र कनेक्ट आईपीएसमा ५६६ प्रतिशतले कारोबारको आकार वृद्धि भएको तथ्यांकले देखाएको छ। तर गत वर्ष कुल रकमको करिब ७० प्रतिशत अर्थात ९२ खर्ब ३४ अर्ब रुपैयाँ बराबरको रकम चेकमार्फत भुक्तानी भएको छ। डिजिटल माध्यमबाट २९ दशमलव २० प्रतिशत अर्थात ३८ खर्ब ८ अर्ब ६२ करोड रुपैयाँ बराबरको रकम कारोबार भएको छ।
राष्ट्र बैंकका बैंकिङ विभागका कार्यकारी निर्देशक तथा एनसीएचएलका अध्यक्ष रामबहादुर मानन्धर डिजिटल कारोबारलाई प्राथमिकता दिनु केन्द्रीय बैंकको उद्देश्य भएको बताउँछन्। उनका अनुसार एनसीएचएलको डिजिटल प्रडक्ट र यसबाहेकका अरू डिजिटल प्रविधिलाई बढी प्रयोग गरेर नगद कारोबारलाई कम गर्ने हो। ‘पूरै नगदरहित त हुन नसक्ला तर कम गर्न जरुरी छ। चेक पनि क्रमशः घटेको छ।
डिजिटल कारोबार बढ्दै गएको छ। यो वित्तीय अर्थतन्त्रका लागि खुशीको खबर हो,’ उनले भने, ‘कम नोट छाप्न परे पनि धेरै बचत हन्छ। चेकको कारोबार गर्दा पनि बदला नगद सटही हुन्छ। यसैले केन्द्रीय बैंकले नगद कम र डिजिटल कारोबार बढी होस् भन्ने चाहेको छ।’
अर्थतन्त्रको तथा जीडीपीको आकार बढ्दै गएपछि यसले माग आफैं सिर्जना गर्ने भएकाले यसको मागअनुसार डिजिटल रफ्तारलाई बढाउन प्राथमिकता दिएको उनको भनाइ छ।
डिजिटल अर्थतन्त्र निर्माण गर्ने नीतिगत प्रयास तथा कोभिड–१९ समेतको कारणले सिर्जना भएको परिस्थितीले डिजिटल भुक्तानीको स्वीकार्यता तथा प्रयोगमा महत्वपूर्ण भूमिका खेलेको एनसीएचएलको दाबी छ। नेपाल सरकार तथा राष्ट्र बैंकको विद्युतीय भुक्तानी वृद्धि गरेको संस्थाले बताएको छ । साथै आगामी वर्षमा एनसीएचएलद्वारा कार्यान्वयन गरिने नेसनल पेमेन्ट स्विचमार्फत पनि यसरी बढ्दो डिजिटल भुक्तानीको प्रयोगलाई थप टेवा पुग्ने विश्वास गरिएको छ।
राष्ट्र बैंक तथा बैंक वित्तीय संस्थाहरूबाट प्रवद्र्धित नेपाल क्लियरिङ हाउस (एनसीएचएल)ले देशको डिजिटल भुक्तानी पूर्वाधार विकासका निम्ति राष्ट्रिय स्तरका भुक्तानी तथा फछ्र्योटका प्रणालीहरू निर्माण तथा सञ्चालन गर्दै आएको बताएको छ।
यसमा ५९ बैंक वित्तीय संस्था, २३ भुक्तानी सेवा प्रदायक, १२ रेमिट्यान्स कम्पनी, ७ इन्स्योरेन्स कम्पनी, १२ सरकारी तथा अर्ध सरकारी निकाय र अन्य ७ विभिन्न संघ संस्थाहरू आबद्ध छन्। यसले विभिन्न भुक्तानी प्रणालीका साथै बैंक वित्तीय संस्था, सदस्य भुक्तानी सेवा प्रदायक, नेपाल सरकार लगायत अन्य विभिन्न संघ–संस्थाहरूले प्रयोग गर्ने च्यानलहरू सञ्चालन गर्दै आएको छ।
एनसीएचएलमार्फत भएको भुक्तानीबाहेकका क्यूआर कोड (क्विक रेस्पोन्स)मार्फत हुने भुक्तानी, मोबाइल बैंकिङ, आरटीजीएस (रियलटाइम ग्रस सेटलमेन्ट), खल्ती, ई–सेवा जस्ता वालेटलगायतका डिजिटल भुक्तानी प्रणालीमार्फत आम ग्राहकले कारोबार बढाउन थालेका छन्। यस्तो कारोबार कोभिड सुरु भएपछि थप प्रभावकारी हुन थालेको हो।