काठमाडौं – कोरोना भाइरस महामारीका बीच नेपालमा रेमिट्यान्स आप्रवाहमा वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार १० महिना अर्थात गत साउनदेखि वैशाखसम्म ८ खर्ब ९ अर्ब ८९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो।
राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार यो अवधिमा रेमिट्यान्समा १९.२ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्ष यही अवधिमा रेमिट्यान्स ६.३ प्रतिशतले घटेको थियो।
अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १६.१ प्रतिशतले वृद्धि भई ६ अर्ब ८७ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ७.६ प्रतिशतले घटेको थियो।पछिल्लो १० महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ६०.३ प्रतिशतले घटेको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २.७ प्रतिशतले घटेको थियो। वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ४९.० प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २४.६ प्रतिशतले घटेको थियो।
१० महिनामा खुद ट्रान्सफर १७.२ प्रतिशतले वृद्धि भई ९ खर्ब ३ अर्ब ७७ करोड पुगेको छ। अघिल्लो वर्षको सोही
अवधिमा यस्तो ट्रान्सफर ६.९ प्रतिशतले घटेको थियो।