टोकियो – जापानमा हुने टोकियो ओलम्पिकमा १२ खेलका २९ शरणार्थी खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको झण्डामा बसेर उनीहरुले टोकियो ओलम्पिकमा सहभागिता जनाउनेछन् ।
विभिन्न देश छोडेर अर्को देशमा गएर बसेका त्यस्ता खेलाडीलाई आइओसीले सन् २०१६ को रियो ओलम्पिकबाट सहभागिता गराउने नियम बनाएको हो । २०१६ मा शरणार्थी कोटामा १० खेलाडीले प्रतिस्पर्धा गरेका थिए । यो पटक सो संख्या बढेर २९ पुगेको हो ।
आइओसीको झण्डामुनी प्रतिस्पर्धा गर्ने खेलाडीमा इरान, दक्षिण सुडान, अफगानिस्तान, सिरिया र इरिट्रिया देशका रहेका छन् । खेलकुदमा संभावना भएका तर विभिन्न कारणले आफ्नो देश छोडेर अर्को देशमा गएकालाई आइओसीले शरणार्थी कोटामा राखेको हो ।
जुलाई २३ बाट सुरु हुने टोकियो ओलम्पिकका दुई खेल बेसबल र फुटबल उद्घाटनको तीन दिन अगाडीबाट सुरु हुनेछन्। यो पटकको टोकियो ओलम्पिक कोभिडका कारण एक बर्ष सारेर जुलाई र अगष्टमा गर्ने तय भएको हो ।