Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

देश त्यतिबेला मात्र देश जस्तै लाग्छ- जतिबेला नागरिकहरु राज्यप्रति पूर्ण भरोसा गर्छन्, नेताहरुप्रति विश्वास गर्छन् । गाँस, बास र कपासको प्रबन्ध सरकारले नै गरिदिन्छ। शि़क्षा, स्वास्थ्य र रोजगार जस्ता आधारभूत कुराहरुमा नागरिकको सहज पहुँच पुग्न सक्छ या राज्यले ग्यारेन्टी गरिदिन्छ । उचित रोजगार दिन्छ, स्वास्थ्य ब्यवस्था, सामाजिक सुरक्षा, औद्योगिक सुरक्षा, व्यवसायिक सुरक्षा जहाँ राज्यले गरिदिन्छ ।

आफ्नो लागि त पशुहरु पनि बाँचिरहेका छन् यो भौतिक दुँनियामा । न कुनै उद्योग धन्दा गर्छन् न कल कारखाना, न त कुनै व्यवसाय नै ! निर्धक्क बाँचिरहेछन् तिनीहरु पनि । प्राणीमा सर्वश्रेष्ठ कहलिएको मानव किन लाचार छ त ? सन्तानको लागि मात्रै त एक अभिभावकले पनि खुशी राखेकै छ नि । वर्षौको त्याग तपस्या, जेलनेल, हत्या हिंसा, बन्दी हुँदै जनताको भावनामा खेल्दै हिड्नेहरुले पनि किन आफ्नै लागि मात्रै बाँचिरहेका छन् यहाँ ।

सपना देख्नु गलत होईन तर, अरुहरुलाई सपना देखाएर नीजि स्वार्थसिद्ध गर्नु महान् अपराध हो । मानव संवेदनामाथि खेल्नेहरुको भलो हुँदैन, इतिहासले कैंयौ पटक प्रमाणित गरिसकेको छ । संसार यतिबेला कोरोनाको उच्चतम् बिन्दुमा लडिरहेको छ । ठूलो मानव सागरको क्षति भइरहेको छ । व्यक्तिगत तरवबाट नागरिकले गर्न सक्नेजति गरिरहेका छन् ।

ऊ चाहन्छ, राज्यले नागरिकको लागि केहि गरिदियोस् । स्वास्थ्यमा सबैको समान पहुँच पुगोस् । नागरिकहरुले राज्य र सरकारको महसुस गर्न सकून ।नागरिकहरुले जीवनभरि राज्यलाई तिरेको करको सदुपयोग गरिदियोस्, राज्यले यो संकटको घडीमा ।

एउटा नागरिकले जिवनभरि आफ्नो मोटरसाईकलको कर राज्यलाई तिर्छ तर, त्यहि करदाता सडकको खाल्टाखुल्टीमा उसैको मोटरसाईकल दुर्घटना भएर मृत्युवरण गर्छ । यो कस्तो देश हो हाम्रो ? कस्तो वातावरणमा बाँचिरहेका छौं हामी । जुन कामका लागि हामी कर तिर्छौं तर, राज्यसरकारबाट किन त्यहि करको फिडब्याक पाउँन सकिरहेका छैनौं । नागरिकहरुले तिरेको करको किन उपलब्धी खोजिरहेका छैनौं हामी ।

संसारका थुप्रै देशहरुले नागरिकको करको सहि प्रयोगले गगन चुमिसकेका छन् । हामी कहाँ किन सदुपयोग भएन करको ? किन पारदर्शिता राख्दैन सरकारले ? कहिलेसम्म ढुङ्गेयुगका दास भइरहने हो हामी ? किन यो देशमा स्थिर सरकार बन्नै सक्दैन ? जबसम्म देशमा स्थिर सरकार हुँदैन, देश विकास हुनै सक्दैन यो सर्वमान्य सिद्धान्त पनि हो । आजसम्म कसैको गुलाम नभएको देश नेपाल किन अघि बढ्नै सकेन । संसारको दोश्रो जलश्रोतमा धनी देशमा किन पानीको अभावमा छट्पटिन्छ ?

देश विकासको लागि अथाह सम्पत्ति होईन, भिजनरी नेतृत्व चाहिने रहेछ । मरुभुमिले मात्रै ढाँकिएको देश दुवैले एउटा भिजनरी नेतृत्व ‘शिख मोहम्बद बिन रसिद’ पाउँदा देशले कायापलट गर्यो, सिंगापुरले ‘लि क्वान यू’ पाँउदा छोटो समयमा नै संसारकै उत्कृष्टमा देशहरुमा आँफूलाई उभ्याउँन सफल भयो ।

नेपालमा पनि वर्षेनीजस्तो धेरै नेतृत्वहरु आईरहे-गईरहे । सरकार बाँडफाँडमै समय खर्चिए । भागवण्डामै सरकार फेरिरहे । ‘केटाकेटी आए गुलेली चलाए मट्याङ्ग्राको सत्यानास’ भनेझैं देश बर्बाद बनाए । चप्पल लिएर आए, महल बनाए गए । आज दुँनिया कोभिडसँग लड्दै गर्दा यसका औषधीहरुको आविष्कार र अन्वेषणमा समय बिताउँदै गर्दा हाम्रा नेतृत्वहरु भने संसार नै चकित पार्ने गरी सरकार फेर्न र कुर्सीकै तानातानमा भीड जम्मा गरिरहेछन् ।

जनताको मृत्युमाथि बेवास्ता गर्दै पद र कुर्सीमा नै घुमिरहने हो भने कस्का लागि नेतृत्व गरिरहेछन् त हाम्रा राजनीति ठेकेदारहरु ? जनताको जीउधनभन्दा ठूलो कुर्सी देख्नेहरुले के साँच्चिकै भोलि मत माग्न घरदैलोमा आँउने हिम्मत गर्लान् र ? जनता यसरी नै सरकार र राज्य नभएको महसुस गर्दै रोगले थलिएर मरिरहे भने भोलि कसमाथि राजनीति गर्ने शासकहरुले देशका नागरिक नै बाँकी रहेनन् भने । यो बेला पदको सरकारको अंशवण्डा होईन, जनताको जीउ धनको सुरक्षा गर्ने बेला हो । यो महामारीबाट जनता बचायौ र तिमि पनि बाँच्यौ भने भोलिसँगै रमाउँला । तिमि तिम्रै कुर्सी मिलाउनु, हामी घर सम्हालौंला ।

  • मोहनप्रसाद खतिवडा -टोकियो, जापान
तपाईको प्रतिक्रिया